काठमाडौँ: निर्वाचनमा बेहोरेको लज्जास्पद हार र ‘जेन जी’ आन्दोलनको रापतापपछि नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहसले उग्र रूप लिएको छ। अध्यक्ष केपी शर्मा ओली प्रहरी नियन्त्रणबाट मुक्त भएर अस्पतालमा उपचाररत रहँदा नै पार्टीभित्र उनीविरुद्धको घेराबन्दी बलियो बन्दै गएको देखिएको छ।
सोमबार महाराजगञ्जस्थित टिचिङ अस्पतालमा ओलीको पत्थरीको सफल शल्यक्रिया भएको छ। तर, अस्पताल बाहिर एमालेका असन्तुष्ट पक्ष र युवा नेताहरू भने ओली तङ्ग्रिएलगत्तै नेतृत्व हस्तान्तरणको एजेन्डालाई वारपार पार्ने रणनीतिमा जुटेका छन्।
स्वैच्छिक बहिर्गमन कि बाध्यता?
केही महिनाअघि मात्रै महाधिवेशनबाट चुनिएका ओलीलाई हटाउन त्यति सहज भने देखिँदैन। तर, नेता टङ्क कार्की हिजोको गलत मूल्यमा स्थापित नेतृत्वले स्थान खाली नगरी पार्टी चलायमान नहुने ठोकुवा गर्छन्। उनी भन्छन्, “कमीहरू सच्याउँदै अघि बढ्ने हो भने नेतृत्वको विकल्प खोज्नु अनिवार्य छ।”
नेतृत्व परिवर्तन पक्षधरहरूले ओलीले स्वैच्छिक रूपमा मार्गप्रशस्त नगरे ‘विशेष महाधिवेशन’का लागि हस्ताक्षर अभियान नै चलाउने तयारी गरेका छन्। यद्यपि, ओलीनिकट नेताहरूले भने यसलाई ‘बाध्यतापूर्ण बहिर्गमन’को षड्यन्त्र भन्दै प्रतिरक्षा गरिरहेका छन्।
ओलीलाई दोहोरो दबाब
राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेलका अनुसार ओलीका लागि आगामी दिन अनुकूल छैनन्। एकातिर पार्टीभित्रको आन्तरिक विद्रोह र अर्कोतिर सरकारले गिरीबन्धु टी-इस्टेट, कोभिड सामग्री खरिद र भुटानी शरणार्थी प्रकरणमा गर्न सक्ने सम्भावित अनुसन्धानले उनलाई अप्ठ्यारोमा पारेको छ। विश्लेषक झलक सुवेदीको बुझाइमा, ओलीले यी मुद्दाहरूलाई आफ्नो प्रतिरक्षाको अस्त्र बनाउन खोजे पनि आम नागरिक र कार्यकर्ताले कति साथ दिन्छन् भन्ने चुनौतीपूर्ण छ।
वाम एकता: नयाँ रक्षाकवच?
चुनौती चुलिँदै गएपछि ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरि ‘वाम एकता’को कार्ड फ्याँक्न सक्ने आँकलन गरिएको छ। आफ्ना विरुद्ध उठेका आवाजलाई दबाउन र अस्तित्व रक्षाका लागि दुवै नेता मिल्ने सम्भावना रहेको सुवेदीको विश्लेषण छ। तर, प्राध्यापक पोखरेल भन्छन्, “पानी टाउको माथि उक्लियो भने उहाँहरूले एकताको पासा फ्याँक्नुहोला, तर अब उहाँहरू आकर्षक राजनीतिक पात्र रहनु भएन।”









