दुईजनाको मृत्यु
टिस्टा: राष्ट्रिय राजमार्ग १० अन्तर्गत २९ माइल नजिक ‘बाँदरे भिर’बाट आज बिहानै एउटा इनोभा गाडी अनियन्त्रित भएर टिस्टा नदीमा खस्दा दुईजनाको मृत्यु अनि दुईजना घाइते भएका छन्। टिस्टा नजिक क्षेत्रमा भएको यस भयावह सडक दुर्घटनामा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य दुईजना गम्भीर रूपमा घाइते भएको जानकारी प्राप्त भएको छ। प्राप्त जानकारी अनुसार डुवर्सबाट सिक्किमतर्फ एउटा विवाह समारोहमा सहभागी हुन जाँदै गरेको समय उक्त वाहन दुर्घटनामा भएको बताइएको छ। दुर्घटना आज बिहान ३ बजीदेखि ५ बजेको अवधिमा भएको हुनसक्ने अनुमान गरिएको छ। उक्त गाडी मुल रोडबाट धेरै तल टिस्टा नदीको किनारमा खसेको बताइएको छ। घटनाको जानकारी पाउन साथ स्थानीय प्रशासन र उद्धार टोली घटनास्थलमा पुगेका थिए।

उद्धार गरिएका दुईजना घाइतेहरूको अवस्था चिन्ताजनक रहेको र उनीहरूलाई तत्कालै नजिकैको रम्बी अस्पतालमा उपचारका लागि लगिएको छ। दुर्घटनाको वास्तविक कारण अझसम्म थाहा नलागे तापनि तीव्र गति अथवा चालकले नियन्त्रण गुमाइ पठाएपछि दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ।









