गान्तोक: राष्ट्रीय प्रौद्योगिकी संस्थानले आज आफ्नो पाँचौ दीक्षान्त समारोह दक्षिण जिल्लाको तथागतसलमा भव्यरूपमा पालन गऱ्यो। आजको यस कार्यक्रममा मुख्य अतिथिकोरूपमा पद्मश्री विवेक देवरोय रहेका थिए, जो देशका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार परिषदमा पनि कार्यरत रहेका छन्। कार्यक्रमलाई सम्बोधन ग्दै मुख्य अतिथि विवेक देवरोयले हार्दिक कृतज्ञता व्यक्त गर्दै स्नातक उत्तीर्ण विद्यार्थीहरूलाई उनीहरूको उज्जवल भविष्यको लागि हार्दिक शुभकामना व्यक्त गरे। उनले भारतमा शिक्षाको स्वास्थ परम्परा रहेकोमा जोड दिँदै भारतमा पश्चिमी शिक्षाको प्रभाव रहेको बताए। उनले विद्यार्थीहरूलाई आफूभित्र सद्भाव कायम राख्न र राज्यमा उच्च शिक्षाको अवसर प्राप्त गर्न आग्रह गरे। उनले जानकारी गराएअनुसार पूर्वोत्तर राज्यहरूले राज्यका अन्य क्षेत्रहरूसँग अभूतपूर्व भौतिकरूपमा जडान र आवश्यक सुविधाहरूको विकास गरेको बताए। विद्यार्थीहरूलाई उत्तर-पूर्वी राज्यहरूमा शैक्षिक क्षितिज अन्वेषण गर्न र भारतको भविष्य निर्माण गर्न उत्प्रेरित गरे। यसै क्रममा डा. कोमल कपूरले २५२ विद्यार्थीहरूलाई उनीहरूको उपलब्धिको लागि बधाई दिँदै विद्यार्थीहरूले आफ्नो सम्बन्धित क्षेत्रमा आफूलाई स्थापित गर्नको लागि सकारात्मक मनोवृत्तिको महत्त्वबारे प्रकाश पारे।उनले राष्ट्रको लागि योगदान दिन युवा अभियन्ताहरूको भूमिका र जिम्मेवारीबारे जानकारी गराए। कपूरले विद्यार्थीहरूलाई जीवनमा वास्तविक चुनौतीहरूको सामना गर्न पनि प्रेरित गरे। सोही क्रममा दीक्षान्त समारोहका निर्देशक प्रोफेसर महेश चन्द्र गोविलले यस संस्थानको स्थापना वर्ष २०१० भएको र राज्यमा १३ वर्ष पुरा गरिसकेको जनाए। उनले संस्थानको उत्थानका लागि राज्य सरकारले ठूलो सहयोग र मार्गदर्शन दिएको बताए। यस प्रतिष्ठानले विभिन्न विषयमा समग्र र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको अवगत गराए।









