‘एक राष्ट्र, एक चुनाव’को प्रतिवेदनलाई सांसद राजु विष्टले जनाए स्वागत

Raju-Bist

दार्जीलिङ: प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको केन्द्रीय मन्त्रीमण्डलले पूर्वराष्ट्रपति रामनाथ कोविन्दको अध्यक्षतामा रहेको उच्चस्तरीय समितिले तयार पारेको ‘एक राष्ट्र, एक चुनाव’ प्रतिवेदनलाई अनुमोदन गरेको छ। सांसद राजु विष्टले प्रेस विज्ञप्ति गरेर यस प्रणालीमा बृहत् सुधारको प्रस्ताव गर्दै देशभर एकैपटक निर्वाचन गराउन सिफारिस गरेको छ। १८,६२६ पृष्ठको प्रतिवेदन राजनीतिक दल, राजनीतिज्ञ, शिक्षाविद्, कार्यकर्ता, गैरसरकारी संस्था, विकास निकाय र नागरिकसँगको व्यापक परामर्शमा आधारित रहेको छ।  चुनाव प्रक्रियालाई सुव्यवस्थित बनाउन लोकसभा, राज्य सभा र स्थानीय निकायको चुनावलाई समन्वय गर्ने मुख्य प्रस्ताव रहेको छ। समितिले एकैपटकको चुनावले लोकतान्त्रिक सिद्धान्तलाई सुदृढ गर्ने, निरन्तर सुशासन सुनिश्चित गर्ने, लजिस्टिकको भार घटाउने र राष्ट्रिय विकासमा टेवा पुग्नेमा जोड दिएको छ। ऐतिहासिक रूपमा भारतले १९५२, १९५७, १९६२,र १९६७ मा एकै पटक चुनाव गर्यो, तर अभ्यास बिस्तारै फिक्का भयो। दार्जीलिङ, तराई र डुवर्सका जनताका तर्फबाट सांसद राजु विष्टले यो निर्णयलाई स्वागत जनाउँदै लोकतान्त्रिक प्रक्रियामा समान सहभागिता सुनिश्चित गर्ने र राष्ट्र निर्माणमा केन्द्रित हुने बताएका छन्। उनले यो सुधारले पञ्चायत र नगरपालिका जस्ता ग्रामीण र शहरी निकायको चुनावमा हुने ढिलाइलाई रोक्ने आशा प्रकट गरेका छन्।

About Author

Advertisement