
एक समय थियो
जब यो ह्रदयभित्र
आत्मीयताको वास थियो।
केही दिन भयो
ऊ हराएकी छिन्
त्यसैले निक्कै भो उसलाई नदेखेको।
अब त उसको
अनुहार पनि बिर्सन थालिसकेँ।
त्यो समय थियो
जब म बिहान खबर कागज पढ़्थेँ
ऊ सधैँ उदासझैँ हुन्थी।
बाटोमा ससाना
भिखारी नानीहरूलाई देख्दा
ऊ बिचलित हुन्थी।
उसले केही दिन अघि
सम्झाउथिइन् मलाई
घुस दिनु हुन्न
लिनु हुन्न भन्थिइन् सधैँ।
बात बातमा- केही गर्नुपर्छ
यो समाजको लागि
भनिरहन्थिइन्।
तर आज मभित्र
नयाँ जमानाको तौर तरिका
ढोङ, स्वार्थ, झूठ, धोका
यति अधिक भरिएको छ कि
अब त त्यो ह्रदयभित्रको
आत्मीयतालाई भुल्न थालिसकेकी छु।
ऊ यहाँबाट यसरी गइन्
जसरी उसको यहाँ कुनै स्थान नै छैन
केवल उसको याद
मात्र त आउँछ बस् कहिले कहिले।
(लेखिका भारतीय नेपाली साहित्यको संसारमा सुपरिचित महिला कवि एवं गजलकार हुनुहुन्छ)









