मङ्गन: मङ्गन नगर पञ्चायत चुनावमा सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का सबै पाँच उम्मेदवारहरू आज मनोनयन पत्र स्वीकृत भएपछि निर्विरोध निर्वाचित भएका छन्।
आज मङ्गनस्थित जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न मनोनयन पत्र जाँच कार्यक्रममा जिल्ला चुनाव अधिकारी अनन्त जैन र चुनाव पर्यवेक्षक किन्चो डोमा लेप्चाको उपस्थितिमा सबै उम्मेदवारहरूको कागजात जाँच गरिएको थियो। जाँचपछि जिल्ला चुनाव अधिकारीले सबै उम्मेदवारहरूको मनोनयन पत्र स्वीकृत गरेका छन्।
मङ्गन नगर पञ्चायत अन्तर्गत पाँचवटा वार्डका लागि एसकेएम पार्टीका उम्मेदवारहरूले मात्रै मनोनयन पत्र बुझाएका थिए। मनोनयन स्वीकृत हुनासाथ नै उनीहरू निर्विरोध निर्वाचित भएका हुन्। तर मनोनयन पत्र फिर्ता लिने अन्तिम मिति आगामी ४ अप्रिल तोकिएको छ।
एसकेएम पार्टीका उम्मेदवारहरू यस प्रकार छन्:
अप्पर मङ्गन बजार वार्ड: छिरिङ पिन्चो सारिङ
पेन्टोक वार्ड: फुर्कित लेप्चा
पावर कलोनी वार्ड: नर्बु रिन्छेन लेप्चा
नामग्याल मार्ग वार्ड: हाङ्गु लाचेनपा
लोवर मङ्गन बजार: छिरिङ डोमा भोटिया
जिल्ला प्रशासन र चुनाव पर्यवेक्षकले निर्वाचन प्रक्रिया शान्तिपूर्ण र पारदर्शी हुने सुनिश्चित गरेका छन्।










