उत्तर सिक्किमको पेग्योङमा गएको पैह्रोले राष्ट्रिय राजमार्ग १० बाधित

00-1-A-lsd_631

गान्तोक: उत्तर सिक्किममो मुख्यालय मगनदेखि करिब २६ किलोमिटरको दूरीमा अवस्थित पेग्योङमा पैह्रो झर्दा राष्ट्रिय राजमार्ग १० बगाएर लगेको छ, जसका कारण लाचुङ, लाचेन, चुङथाङ लगायत अन्य स्थानको सडक सम्पर्क विच्छेद भएको छ। सीमा सडक संगठनका अधिकारीले दिएको जानकारीअनुसार, राष्ट्रिय राजमार्ग १० अन्तर्गत पेग्योङ नजिकको किलोमिटर ९२.७ र ८३.५ दुई स्थानमा पैह्रो झरेको छ। हिजो बिहिवार राति झरेको पैह्रोले सडक सम्पर्क विच्छेद बनेपछि आज बिहानैदेखि सीमा सडक सङ्गठनले सडक खुल्ला गराउन मशिन र श्रमिकहरूलाई परिचालन गरेर शुक्रबार बेलुकीसम्ममा पैह्रो प्रभावित राजमार्ग खुला गराउने पहल शुरु गरेको छ। तर प्रतिकूल मौसमका कारण काम गर्न कठिनाई भइरहेको बताइएको छ। राति झरेको पैह्रोका कारण एउटा ट्रक फसेको थियो जसमा रहेका केही मानिसहरूलाई सकुशल उद्दार गरिएको छ। यो सडक मार्गले उत्तर सिक्किममा भारत-चीन सीमावर्ती क्षेत्रलाई जोड्ने भएका कारण पेग्योङको पैह्रोले गर्दा स्थानीय मानिसहरूसहित, भारतीय सेना, भारत तिब्बत सीमा पुलिस, लाचुङ, लाचेन तथा अन्य स्थानमा घुम्न गएका पर्यटक र क्षेत्रमा सम्बन्धित अन्य प्रभावित बनेका छन्। पछिल्ला दुई दिनदेखि लगातार वर्षा भएका कारण उत्तर सिक्किमलाई जोड्ने राष्ट्रिय राजमार्ग १० का अन्य स्थान पनि पैह्रोको चपेटमा पर्न थालेका छन्। पेग्योङका दुई स्थानमा पैह्रो झरेकाले आज शुक्रबार उत्तर सिक्किम घुम्न जाने पर्यटकका लागि कुनै पनि पर्मिट जारी नगरिएको थाहा लागेको छ। -हिस

About Author

Advertisement