सिलगढी: उत्तर बंगालको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुऱ्याउने उद्देश्यका साथ अम्बुजा नियोगिया ग्रुप (अम्बुजा नियोगियाद्वारा)ले इन्डियन होटल्स कम्पनी लिमिटेड (आईएचसीएल – ताज ग्रुप) सँगको सहकार्यमा ठूलो लगानीको घोषणा गरेको छ। आगामी ५ देखि ६ वर्षभित्र पश्चिम बंगालभरि करिब २,७०० करोड भारतीय रुपियाँको लागतमा ११ वटा नयाँ होटल निर्माण गर्ने महत्त्वाकाङ्क्षी योजना सार्वजनिक गरिएको हो।
यसै क्रममा सिलीगुडीको उत्तारायणस्थित भर्खरै सञ्चालनमा आएको ‘अल्टायर हाउस – आईएचसीएल सेलेक्सन्स’ मा एक फलदायी बैठक सम्पन्न भएको छ। उक्त बैठकमा आईएचसीएल (ताज ग्रुप) का प्रबन्ध निर्देशक एवं सीईओ पुनीत छटवाल तथा अम्बुजा नियोगिया ग्रुपका अध्यक्ष हर्षवर्धन नियोगियाको विशेष उपस्थिति रहेको थियो।

सबैभन्दा उत्साहजनक कुरा त के छ भने घोषित ११ वटा होटलमध्ये ८ वटा होटल उत्तर बंगाल क्षेत्रमै निर्माण हुनेछन्। उत्तर बंगालमा हुन लागेको यो भारी लगानीले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुऱ्याउनुका साथै स्थानीय रोजगारी, व्यवसाय र समग्र आर्थिक विकासका लागि नयाँ सम्भावनाका ढोकाहरू खोल्नेछ।
यस महत्त्वाकाङ्क्षी लगानी कार्यक्रमअन्तर्गत कोलकाता र सिलीगुडीमा भर्खरै सञ्चालनमा आएका दुई वटा होटल, ‘ताज चिया कुटीर’ को विस्तार तथा अन्य विभिन्न आगामी हस्पिटालिटी परियोजनाहरू समावेश रहेका छन्।

यस बृहत् लगानी पहलको स्वागत गर्दै उत्तर बंगाललाई अझ बलियो पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न र भारतको पर्यटन मानचित्रमा पश्चिम बंगालको स्थानलाई अझ सुदृढ बनाउन यसले अहम् भूमिका खेल्ने अपेक्षा गरिएको छ।





