लखनऊ: भारतको उत्तर प्रदेशमा आगामी सन् २०२७ को विधानसभा निर्वाचनलाई लक्षित गर्दै आजाद समाज पार्टी (कांशीराम) का प्रमुख चन्द्रशेखर आजाद र अल इन्डिया मजलिस–ए–इत्तेहादुल मुस्लिमीन (एआईएमआईएम) का अध्यक्ष असदुद्दीन ओवैसीले नयाँ राजनीतिक गठबन्धन घोषणा गरेका छन्। बिहीबार लखनऊमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा दुवै नेताले गठबन्धनको नाम ‘सामाजिक परिवर्तन मोर्चा’ रहने जानकारी दिएका हुन्।
गठबन्धनका तर्फबाट नगीनाका सांसदसमेत रहेका चन्द्रशेखर आजादलाई मुख्यमन्त्री पदको उम्मेदवार (चेहरा) घोषणा गरिएको छ। पत्रकार सम्मेलनमा बोल्दै ओवैसीले मोर्चाको मुख्य उद्देश्य उत्तर प्रदेशमा भारतीय जनता पार्टी (भाजपा) लाई तेस्रो कार्यकाल सत्तामा आउनबाट रोक्नु रहेको बताए। उनले शिक्षाको खस्किँदो अवस्था, युवा बेरोजगारी, किसानका समस्या तथा दलित, पिछडिएको र सीमान्तकृत समुदायको अधिकारका लागि मोर्चाले लड्ने उल्लेख गरे। आगामी नोभेम्बर २६ मा संविधान दिवसको अवसर पारेर लखनऊको रमाबाई अम्बेडकर मैदानमा मोर्चाको विशाल आमसभा आयोजना गरिने ओवैसीले जानकारी दिएका छन्।
सोही अवसरमा मुख्यमन्त्री पदका उम्मेदवार आजादले आफ्नो मोर्चा तेस्रो नभई उत्तर प्रदेशको ‘पहिलो मोर्चा’ भएको दाबी गर्दै राज्यका सबै ४०३ विधानसभा सिटमा चुनाव लड्ने घोषणा गरे। लामो समयदेखि विभिन्न राजनीतिक दलहरूले गरिब तथा वञ्चित समुदायलाई भोट बैंकका रूपमा मात्र प्रयोग गरेको आरोप लगाउँदै उनले अब सीमान्तकृत समुदाय आफ्नै मतको शक्तिले सत्तामा पुग्ने बताए। विपक्षी दलहरूले भाजपालाई रोक्न नसकेका कारण नयाँ मोर्चा बनाउनुपरेको उल्लेख गर्दै आजादले भाजपासँग असन्तुष्ट समाजवादी पार्टी र कंग्रेसलगायतका दलहरूलाई पनि मोर्चामा स्वागत रहेको बताएका छन्।





