गान्ताेक: उत्तरी सिक्किम मा भारी वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाँदा चुंगथाङ क्षेत्रमा करिब २०० पर्यटक अलपत्र परेका छन्।
मंगनका प्रमुख जिल्ला अधिकारी अनन्त जैनका अनुसार, मंगलबार राति चुंगथाङ–लाचेन सडक खण्डमा पहिरो जाँदा लाचेन जाँदै गरेका पर्यटकहरू बीचमै रोकिएका हुन्। ती यात्रुहरूलाई रातभर भारत तिब्बत सीमा पुलिस को क्याम्प र एक गुरुद्वारामा सुरक्षित राखिएको थियो।
अधिकारीहरूका अनुसार सीमा सड़क संगठन सडक सफा गर्ने काममा जुटेको छ। मौसम अनुकूल भएपछि र सडक सुरक्षित भएपछि मात्र यात्रालाई अनुमति दिइनेछ।
यसबीच केही पर्यटकहरूले आफ्नो यात्रा रद्द गरी गंगटोक फर्किएका छन्। साथै, लाचुङ जाने सडक सफा गरिएपछि त्यहाँ फसेका पर्यटकहरूलाई बुधबार बिहान सुरक्षित रूपमा फर्काइएको छ।

क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले अवस्था माथि निगरानी राखिएको छ। सन् २०२३ मा हिमनदीय ताल फुट्दा आएको बाढीले लाचेन मार्गमा ठूलो क्षति पुर्याएको थियो, जसलाई हालै मर्मतपछि पुनः सञ्चालनमा ल्याइएको थियो।
त्यसैगरी, भारी हिमपातका कारण त्सोमगो झील र नाथुला पास पनि पर्यटकका लागि बन्द रहेका छन्।









