फेन्सङ/मङ्गन: उत्तरी सिक्किमको राजनीतिक समीकरणमा आज एउटा ठुलो उलटफेर भएको छ। सिक्किम डेढोक्रेटीक फ्रन्ट (एसडीएफ) का पूर्व उम्मेदवार एवं सिक्किम सरकारका पूर्व निर्देशक श्री नवाङ छोपेल लेप्चा आफ्नो निर्वाचन क्षेत्र काबी-लुङचोकका ३५ परिवारसहित औपचारिक रूपमा भारतीय जनता पार्टी (भाजपा) मा सामेल हुनुभएको छ। उत्तरी सिक्किमको फेन्सङमा आयोजित एक विशेष राजनीतिक कार्यक्रमका बीच उहाँहरूलाई पार्टीमा स्वागत गरिएको हो।
भाजपामा सामेल हुनुहुने श्री नवाङ छोपेल लेप्चा सन् २०२४ को विधानसभा निर्वाचनमा काबी-लुङचोक क्षेत्रबाट एसडीएफका आधिकारिक उम्मेदवार हुनुहुन्थ्यो। उहाँसँगै पूर्व पञ्चायत सदस्यहरू, प्रतिष्ठित सामाजिक कार्यकर्ताहरू र विभिन्न क्षेत्रका प्रतिबद्ध नागरिकहरूले पनि आज भाजपाको सदस्यता ग्रहण गरेका छन्। भाजपाका प्रदेश अध्यक्ष लगायत वरिष्ठ नेताहरूले नयाँ सदस्यहरूलाई खादा ओढाएर पार्टीमा भव्य स्वागत गर्नुभयो।
पार्टी प्रवेश गरेपछि नयाँ सदस्यहरूले भारतीय जनता पार्टीको विचारधारा, केन्द्रीय नेतृत्व र विकासप्रतिको दृष्टिकोणप्रति पूर्ण आस्था व्यक्त गरे। उहाँहरूले काबी-लुङचोक निर्वाचन क्षेत्रको गाउँ-गाउँमा पुगेर पार्टीको नीति, कार्यक्रम र सन्देशलाई प्रत्येक घरधुरीसम्म पुर्याउने र तृणमूल स्तरमा सङ्गठनलाई मजबुत बनाउने प्रतिबद्धता समेत दोहोर्याए।
सभालाई सम्बोधन गर्दै भाजपाका प्रदेश अध्यक्ष श्री डी.आर. थापाले पार्टीको नीति र ‘विकसित भारत’ एवं ‘विकसित सिक्किम’ को परिकल्पनाबारे विस्तृत रूपमा प्रकाश पार्नुभयो। उहाँले नवप्रवेशी सदस्यहरूलाई सम्बोधन गर्दै माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीको सपनालाई साकार पार्न कडा परिश्रम गर्न आह्वान गर्नुभयो। साथै, राज्य र राष्ट्रको प्रगतिमा समाजका प्रत्येक वर्गले सक्रिय योगदान दिनुपर्ने आवश्यकतामाथि उहाँले जोड दिनुभयो।
राजनीतिक विश्लेषकहरूका अनुसार, काबी-लुङचोक क्षेत्रबाट यति ठुलो सङ्ख्यामा भएको यो दलबदलले सिक्किममा भारतीय जनता पार्टी र यसको नेतृत्वप्रति जनताको बढ्दो विश्वासलाई प्रस्ट पार्छ। समाजका विभिन्न वर्गबाट मिल्दै गएको यो समर्थनले राज्यमा भाजपाको आधारभूमिलाई अझ सुदृढ बनाउने देखिन्छ।











