सिलगढी: भाजपाले उत्तरबंग विश्वविद्यालयको उपकुलपतिले पद त्याग गर्नुपर्ने माग गरेको छ। सिलगढीको बाघाजतीन पार्कमा आज सिलगढीका भाजपा विधायक शङ्कर घोष लगायत सिलगढी सांगठनिक जिल्ला भाजपाका कार्यकर्ता तथा समर्थकहरूले विश्वविद्यालयका उप-कुलपतिले पदत्याग गर्नुपर्ने माग गर्दै धरना प्रदर्शन गरे। विधायक शङ्कर घोषले बताएअनुसार, एसएससी नियुक्तिको भ्रष्टाचार काण्डमा रञ्जीत बागको नेतृत्वाधीन टोलीले गरेको जाँच अवधि उत्तरबंग विश्वविद्यालयका उपकुलपति सुबीरेश भट्टाचार्यको नाम अघि आएको थियो। सीबीआईको सोधखोजको सूचीमा पनि तिनको नाम रहे तापनि उप-कुलपतिले उत्तरबंग विश्वविद्यालयमा विविध प्रशासनिक कार्य गरिरहेका छन्। यसको साथै विश्वविद्यालयको विभिन्न विभागमा पनि प्रोफेसर नियुक्तिमा समेत भ्रष्टाचार भएको विधायकले आरोप लगाएका छन्। यसबाहेक विश्वविद्यालयको सरकारी जमिन पनि गैर सरकारी संस्थाहरूलाई दिएको तिनले आरोप लगाए। यसैले यसपल्ट तिनीविरुद्ध अदालतको माध्यमद्वारा उच्च स्तरीय जाँच गरिनुपर्ने माग गर्नको साथै उत्तरबंग विश्वविद्यालयका उप-कुलपतिले तत्कालै पद त्याग गर्नुपर्ने विधायक घोषले माग गरेका छन्।








