ईरानका नेताहरूबारे ट्रम्पको कडा माग

Donald-Trump-2

दुबई: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानका आगामी सर्वोच्च नेता चयन गर्ने प्रक्रियामा आफूलाई समावेश गर्नुपर्ने बताएका छन्। ट्रम्पको यो अभिव्यक्ति त्यस्तो समयमा आएको हो जब इरानमाथि अमेरिका र इजरायलको संयुक्त आक्रमण निरन्तर जारी छ, र त्यसको जवाफमा इरानले पनि क्षेत्रमा इजरायल र अमेरिकाका विभिन्न सैन्य अड्डामाथि प्रतिआक्रमण गरिरहेको छ।
ट्रम्पले भने, आक्रमणमा मारिएका ईरानका सर्वोच्च नेता अली खामेनेईको स्थानमा उनका छोरा मोज्तबा खामेनेईलाई सर्वोच्च नेताको रूपमा चयन गरिनु “स्वीकार्य नहुने” बताए।
एक अमेरिकी समाचार माध्यमसँगको अन्तर्वार्तामा ट्रम्पको यस भनाइले नयाँ प्रश्न खडा गरेको छ—के अमेरिका र इजरायल ईरानको इस्लामी गणतन्त्रलाई सत्ताच्युत गर्न चाहन्छन्, वा केवल उसको नीतिमा परिवर्तन ल्याउन चाहन्छन्। विश्लेषकहरूका अनुसार यो द्वन्द्व लामो समयसम्म तानिन सक्ने देखिन्छ। यस युद्धको प्रभाव पश्चिम एसिया सहित कम्तीमा १४ देशमा परेको छ। आजरबैजानले बिहीबार ईरानमाथि ड्रोन आक्रमण गरेको आरोप लगाए पनि ईरानले उक्त आरोप अस्वीकार गरेको छ।
ईरानको पुनः आक्रमण:
बिहीबार बिहान इरानले पुनः इजरायल र अमेरिकाका धेरै सैन्य अड्डामाथि आक्रमण गरेको छ। साथै हिन्द महासागरमा ईरानको एक युद्धपोत टरपिडो आक्रमणबाट डुबाइएको घटनाबारे अमेरिकाले यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ।
ईरान समर्थित हिज्बुल्लाह लडाकूसँग द्वन्द्व बढ्दै गएपछि इजरायलले राजधानी बैरुतको दक्षिणी उपनगरका बासिन्दालाई ठूलो मात्रामा क्षेत्र खाली गर्न चेतावनी दिएको छ। संयुक्त राष्ट्रका शान्ति सैनिकहरूले इजरायली सेनाका थप दस्ताहरू सीमाना पार गरेपछि दक्षिणी लेबनानमा स्थलीय युद्ध सुरु भएको जानकारी दिएका छन्। यसैबीच ईरानका विभिन्न स्थानमा अमेरिका र इजरायलका आक्रमण जारी छन्, जहाँ ईरानको सैन्य क्षमता, नेतृत्व र आणविक कार्यक्रमलाई लक्षित गरिएको छ।
अहिलेसम्म हजारौँको मृत्यु:
प्रतिआक्रमणका क्रममा ईरानले अरब क्षेत्रका छिमेकी देशहरूलाई पनि निशाना बनाएको छ। यसका कारण तेल आपूर्ति अवरुद्ध भएको छ र अन्तर्राष्ट्रिय हवाई यात्रा पनि गम्भीर रूपमा प्रभावित भएको छ। सम्बन्धित देशका अधिकारीहरूका अनुसार यस युद्धमा ईरानमा कम्तीमा १,२३० जना, लेबनानमा १२० भन्दा बढी र इजरायलमा करिब एक दर्जन मानिसको मृत्यु भएको छ। आक्रमणमा छ जना अमेरिकी सैनिक पनि मारिएका छन्।

About Author

Advertisement