ईंग्ल्याण्डमा पुगेर अभ्यास शुरु गऱ्यो भारतीय टेस्ट टीमले

IMG-20250608-WA0297

नयाँ दिल्ली: भारतीय क्रिकेट टीम ५ वटा टेस्ट म्याचको सीरीजमा हिस्सा लिन ईंग्ल्याण्ड पुगिसकेको छ अनि शुभमन गिलको कप्तानीमा रहने टीमले आइतवार अभ्यास सत्रमा हिस्सा लियो। भारत र ईंग्ल्याण्डबीच पहिलो टेस्ट म्याच २० जूनदेखि लीड्समा खेलिनेछ। यसको निम्ति भारतीय टीमले मुख्य प्रशिक्षक गौतम गम्भीरको प्रशिक्षणमा तयारी शुरु गरेको छ। पेस बलर जसप्रीत बुमराह, प्रसिद्ध कृष्णा, मोहम्मद सिराज र अर्शदीप सिंहको साथमा नवनियुक्त कप्तान शुभमन गिल, रिषभ पन्त र अलराउण्डर रविन्द्र जडेजाले मुख्य प्रशिक्षक गम्भीरको देखरेखमा घण्टौं अभ्यास गरे। रोहित शर्मा र विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएपछि यसपाली भारतमा एकाधिक युवा खेलाड़ीहरू रहेका छन्। गिलले अपेक्षाकृत युवा टीमको अगुवाई गरिरहेका छन्, जसको लक्ष्य २००७ पछि ईंग्ल्याण्डमा आफ्नो पहिलो टेस्ट सीरीज जित्ने रहेको छ। हेडिंग्लेमा टेस्ट सीरीजको शुरुवातपछि रहल चारवटा म्याच क्रमशः एजबेस्टन, लर्ड्स, ओल्ड ट्रेफर्ड र ओवलमा खेलिनेछ। भारतीय टेस्ट टीममा सामेल केही खेलाड़ीहरू अहिले भारत ए टीमको निम्ति ईंग्ल्याण्ड लायन्सविरुद्ध दोस्रो अनाधिकृत टेस्ट म्याच खेलिरहेका छन्। यसबीच एड्रियन ले रक्स ईंग्ल्याण्ड यात्राको निम्ति भारतीय टीममा स्ट्रेन्थ एण्ड कण्डीशनिंग प्रशिक्षकको रूपमा सामेल भएका छन्। उनले सोहम देसाईको स्थान लिएका छन्। ईंग्ल्याण्डविरुद्ध सीरीजको साथ भारतले आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) को नयाँ चक्रको पनि शुरुवात गर्नेछ। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले सोशल मीडियामा भारतीय टीमको अभ्यास सत्रको भीडियो शेयर गरेको छ। भारतले अन्तिमपल्ट २००७-मा राहुल द्रविड़को कप्तानीमा ईंग्ल्याण्डमा टेस्ट सीरीज जितेको थियो। त्यस समय भारतले ३ वटा म्याचको सीरीजमा १-०-ले जीत हासिल गरेको थियो।

About Author

Advertisement