इन्टरलोक्युटर गोर्खाहरुलाई लट्टाउने बहाना मात्रै हो: अनु छेत्री

IMG-20260124-WA0077

खरसाङ: इन्टरलोक्युटर पहाड आएर घुमेर फर्किन्छ कारण पहाड शान्ता छ। हामी इन्टरलोक्युटरलाई स्वागत गर्दछौं तर गोर्खाहरुको समस्या समाधानको लागि इन्टरलोक्युटर किन चाहियो? पीपीएस भनेको त इन्टरलोक्युटर पो रहेछ भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन नारी शक्तिको केन्द्रीय अध्यक्षा एंव खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्रीले बताएकी छन्। उनले आज खरसाङमा पत्रकारहरुलाई सम्बोधन गर्दै इन्टरलोक्युटर विषयमा आफ्नो प्रतिक्रिया दिन्दै भनिन्, ‘हामीलाई इन्टरलोक्युटर चाहिन्दैन किनभने गोर्खाहरुको समस्या प्रधानमन्त्री र गृहमन्त्रीलाई समेत थाहा छ, भाजपा सरकारलाई पनि थाहा छ कि गोर्खाहरुलाई गोर्खाल्याण्ड चाहिएको छ। प्रधानमन्त्रीले गोर्खाहरुको सपना मेरो सपना भनेको थियो। अहिले यतिको वर्षपछि मात्रै केवल इन्टरलोक्युटर पठाउनु? हामीलाई इन्टरलोक्युटर चाहिन्दैन।’
उनले अझ भनिन् ‘इन्टरलोक्युटर आज दार्जिलिङमा बसेर २६ जनवरीमा खरसाङको जनसभामा आउने भएको हरे तर यो जनसभा सीधा साधा गोर्खाहरुलाई झुक्काउन मात्रै आयोजना गरिएको हो।‌ यो जनसभा केवल चुनावी जनसभा मात्रै हो।‌ तर हामीलाई चुनाव अघि नै गोर्खाहरुको सपना पूरा भएको हुनुपर्छ। चुनावपछि होइन। इन्टरलोक्युटर गोर्खाहरुलाई लट्टाउने बहाना मात्रै हो। अब हामी लट्टिनु हुँदैन।‌’
अनु छेत्रीले‌ अघि भनिन् -‘हामीले अहिलेसम्म तीनजना सांसदलाई जिताएर पठाएका छौँ। वर्तमान सांसद राजु विष्टलाई झन दुईपल्ट जिताएर पठाएका हौं र उनी गोर्खा भएकोले गोर्खाहरुको समस्या बुझ्नु पर्ने हो। तर अहिलेसम्म गोर्खाहरुको समस्या समाधान गर्न केवल इन्टरलोक्युटर मात्रै पठाएको हो? हामीलाई इन्टरलोक्युटर चाहिन्दैन। अब हामी सबैजना सचेत हुन जरुरी छ।’

About Author

Advertisement