गान्तोक: राज्य पर्यटन एवं नागरिक उड्डयन विभाग मन्त्री छिरिङ टी. भोटियाको अगुवाईमा एक उच्चस्तरीय प्रतिनिधि टोली असमको काजीरङ्गामा आयोजित इन्टरनेशनल टुरिज्म मार्ट २०२४ मा सहभागी भएका छन।
भारत सरकारको पर्यटन मन्त्रालयले आयोजना गरेको उक्त कार्यक्रम आजदेखि शुरू भई आगामी २९ नोभेम्बरसम्म चल्नेछ।
सो कार्यक्रमको उद्देश्य पूर्वोत्तरका आठ राज्यबीच पर्यटन र सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहित गर्ने लक्ष्य लिएको छ। टोलीमा पर्यटन विभागका सल्लाहकार सुदेश कुमार लिम्बू, पूर्व मन्त्री, वरिष्ठ पर्यटन अधिकारीहरू र हितधारकहरू सहभागी छन्।
यस कार्यक्रममा ४सय भन्दा बढ़ीको सहभागिता रहने बताइएको छ। मन्त्री भोटियाले सिक्किमलाई यस क्षेत्रको प्रमुख पर्यटन गन्तव्यको रूपमा आफ्नो स्थान सुदृढ गर्न मद्दत पुग्ने आईटीएमको महत्त्वलाई जोड दिए। उनले यो कार्यक्रमले राज्यको प्राकृतिक सौन्दर्य, दिगो पर्यटन अभ्यास र सांस्कृतिक समृद्धिलाई अन्तरराष्ट्रिय दर्शक समक्ष उजागर गर्ने उत्कृष्ट अवसर प्रदान गरेको बताए। यो कार्यक्रमले सिक्किमका लागि आफ्नो अद्वितीय प्रस्तावहरू प्रदर्शन गर्ने र यस क्षेत्रका सरोकारवालाहरूसँग सहकार्य गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने बताए।










