​इतिहासकै सबैभन्दा बढी १०५ जना सिक्किमे युवा अग्नीवीरमा भर्ना

IMG-20260616-WA0090(1)

मुख्यमन्त्रीद्वारा भेटघाट, सिक्किम पुलिसमा २०% आरक्षणको घोषणा

गान्तोक: सिक्किमका माननीय मुख्यमन्त्री प्रेमसिंह तामाङले आज राजधानी गान्तोकस्थित सिएम सचिवालय ‘सम्मान भवन’ मा अग्निपथ योजना अन्तर्गत भर्ना भएका सिक्किमका नव-नियुक्त अग्नीवीरहरूसँग एक विशेष शिष्टाचार भेटघाट गर्नुभएको छ। मुख्यमन्त्री गोलेले अग्नीवीर युवाहरूसँग खिचेका केही गर्विला तस्विरहरू साझा गर्दै देश सेवामा होमिन लागेका युवाहरूको हौसला बढाउनुभएको हो।
​भेटघाटका क्रममा मुख्यमन्त्री गोलेले यस वर्ष सिक्किमले अग्निपथ योजना अन्तर्गत इतिहासकै सबैभन्दा ठूलो सफलता हासिल गरेको भन्दै खुसी व्यक्त गर्नुभयो। यस वर्ष सिक्किमका १०५ जना युवाहरू अग्नीवीरको रूपमा भारतीय सेनामा भर्ना भएका छन्, जुन अहिलेसम्मकै सबैभन्दा उच्च संख्या हो। यी वीर युवाहरूले आगामी चार वर्षसम्म पूर्ण निष्ठा, प्रतिबद्धता र गौरवका साथ राष्ट्रको सेवा गर्नेछन्। मुख्यमन्त्रीले सबै नव-नियुक्त अग्नीवीरहरूलाई आगामी सुनौलो यात्राको लागि हार्दिक शुभकामना दिँदै उनीहरूलाई अनुशासन, समर्पण र सेवाको उच्चतम स्तर कायम राख्न प्रेरित गर्नुभयो।
​मुख्यमन्त्रीले भन्नुभयो, “अग्नीवीरको रूपमा यी युवाहरूले हाम्रो राष्ट्रको शक्ति र प्रगतिमा योगदान पुर्‍याउँदै सिक्किमको गौरवमय भावना, अकाङ्क्षा र संस्कारलाई अझ उच्च बनाउनेछन्। मलाई पूर्ण विश्वास छ कि उनीहरूको यो प्रतिबद्धता र उदाहरणीय सेवाले सिक्किम र सिङ्गो देशकै शिर गर्वले उँचो बनाउनेछ।”
​यसका साथै, देश सेवामा समर्पित हुने यी युवाहरूको भविष्य सुरक्षित गर्न सिक्किम सरकारले एउटा ठूलो र ऐतिहासिक निर्णय गरेको छ। मुख्यमन्त्री गोलेले युवाहरूलाई जानकारी गराउँदै भन्नुभयो कि चार वर्षको सफल कार्यकाल पूरा गरेर फर्किएपछि ती अग्नीवीरहरूलाई सिक्किम पुलिसको भर्नामा २० प्रतिशत आरक्षण प्रदान गरिनेछ। राज्य सरकारको यस नीतिले राष्ट्र सेवामा लाग्ने युवाहरूको योगदानको कदर गर्दै उनीहरूको भविष्यलाई सुनिश्चित बनाउने राज्य सरकारको प्रतिबद्धतालाई फेरि एकपल्ट प्रमाणित गरेको छ।

About Author

Advertisement