इटलीविरुद्ध वेष्ट इण्डिजको ४२ रनले जीत

IMG-20260219-WA0080

काेलकत्ता: आईसीसी टी२० वर्ल्ड कपअन्तर्गत ग्रुप सी-को म्याचमा वेष्ट इण्डिजले इटलीविरुद्ध ४२ रनले जीत हासिल गऱ्यो। यस जीतको साथ वेष्ट इण्डिज ४ वटा म्याचमा ८ पोइण्ट्सको साथ ग्रुपमा अजेय रह्यो। यस ग्रुपबाट वेष्ट इण्डिजको साथमा ईंग्ल्याण्डले दोस्रो स्थानमा रहेर सुपर ८-को निम्ति क्वालीफाई गरेको छ। यसरी इटलीले २ पोइण्ट्सको साथ चौथो स्थानमा रहेर टी२० वर्ल्ड कपबाट बिदा लियो। ईडन गार्डन्समा खेलिएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै वेष्ट इण्डिजले २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनायो। त्यससपछि इटलीको टीम १८ ओभरमा १२३ रन बनाएर अलआउट भयो। चुनौतीपूर्ण लक्ष्यलाई अघि राखेर खेल्दै इटलीले शुरुदेखि नै विकेट गुमाउन थाल्यो। शमार जोसेफको अगुवाईमा वेष्ट इण्डिजका पेस बलरहरूले लगातार विकेट हासिल गरी टीमलाई सजिलै जीत दिलाए। इटलीको निम्ति बेन मानेतीले सर्वाधिक २६ रन बनाए। उनले २१ बल खेलेर २ वटा चौका र एउटा छक्का लगाए। यसबाहेक जेजे स्मट्सले २४ र एन्थोनी मोस्काले १९ रनको योगदान दिए। वेष्ट इण्डिजका बलरहरूमा शमार जोसेफले ४ र म्याथ्यू फोर्डले ३ विकेट लिए। यसअघि म्याचमा पहिला ब्याटिंग गर्दै वेष्ट इण्डिजको निम्ति कप्तान शे होपले असाधारण अर्द्धशतक बनाए। वेष्ट इण्डिजको पनि शुरुवात असल रहेन अनि ३१ रनमै २ विकेटको पतन भएको थियो तर ओपनर होपले लड़ाइँ जारी राखेर टीमलाई असल स्थितिमा पुऱ्याए। वेष्ट इण्डिजका कप्तानले ४६ बलमा ६ वटा चौका र ४ वटा छक्काको सहायताले ७५ रन बनाए। होपले रोस्टन चेससँग मिलेर तेस्रो विकेटको निम्ति ६६ रनको पार्टनरशीप गरे। चेसले २४ रनको योगदान दिए। यसरी शेरफेन रदरफोर्डले पनि २४ रन बनाए। उनले १५ बल खेलेर २ वटा चौका र एउटा छक्का लगाए। इटलीका बलरहरूमा बेन मानेती र क्रिशन कालुगामागेले २-२ विकेट लिए। शे होपले प्लेयर अव् द म्याचको ट्रफी जिते।

About Author

Advertisement