इस्लामाबाद: पाकिस्तानका चिफ अफ डिफेन्स फोर्सेस तथा पाँचतारे फिल्ड मार्सल आसिम मुनीर मलेसियाको नेसनल डिफेन्स स्टडिज सेन्टरको ‘हल अफ फेम’ मा मनोनित हुनुभएको छ। मलेसिया भ्रमणका क्रममा प्राप्त यो सम्मानप्रति पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले मङ्गलबार बधाई दिँदै यसलाई इस्लामाबाद र क्वालालम्पुरबीचको सुमधुर सम्बन्ध र मुनीरको सफल सैन्य नेतृत्वको मान्यता बताउनुभएको छ।
रक्षा सहकार्य विस्तार गर्ने उद्देश्यले औपचारिक मलेसिया भ्रमणमा रहनुभएका मुनीरले त्यहाँका प्रधानमन्त्री अनवर इब्राहिमसँग समेत भेटवार्ता गर्नुभएको छ। सन् २०२५ को मे महिनामा भारतसँगको सैन्य तनावपछि फिल्ड मार्सल तथा डिसेम्बरमा देशको पहिलो चिफ अफ डिफेन्स फोर्सेस नियुक्त हुनुभएका मुनीरको नेतृत्व क्षमताको प्रधानमन्त्री सरिफले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत विशेष प्रशंसा गर्नुभएको हो।





