आसाम: साढे १० करोड रुपैयाँ मूल्यको लागुऔषध बरामद, एक तस्कर पक्राउ​

37f98f3c-cb42-4324-af71-7050d8bce967

गुवाहाटी: लागुऔषध तस्करीको ट्रान्जिट प्वाइन्ट बन्द गर्ने उद्देश्यका साथ आसाम पुलिसले चलाएको विशेष अभियानका क्रममा एक ठुलो सफलता हात लागेको छ। आसामको श्रीभूमि जिल्ला पुलिसले रातभर सञ्चालन गरेको एउटा विशेष अपरेसनका क्रममा १० करोड ८० लाख रुपैयाँ (१०.८ करोड) मूल्य बराबरको अवैध लागुऔषधको विशाल खेप बरामद गरेको हो।​पुलिस मुख्यालयका अनुसार विशेष सुराकीका आधारमा श्रीभूमि पुलिसको एउटा टोलीले रातको समयमा शङ्कास्पद सवारी साधन र क्षेत्रहरूमा निगरानी बढाएको थियो। सोही क्रममा तस्करहरूले ओसारपसार गर्न लागेको लागुऔषधको ठुलो परिमाणलाई पुलिसले बीच बाटोमै बरामद गर्न सफल भयो। घटनामा संलग्न रहेको आरोपमा पुलिसले घटनास्थलबाटै एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्तिको बयानका आधारमा यस गिरोहमा संलग्न अन्य फरार अभियुक्तहरूको पहिचान भइसकेको र उनीहरूको खोजीका लागि सम्भावित ठेगानाहरूमा छापा मार्ने कार्य तीव्र पारिएको श्रीभूमि प्रहरीले जनाएको छ।​आसामका मुख्यमन्त्री हिमन्त बिस्वा शर्माले ‘लागुऔषध विरुद्ध आसाम'(असम अगेंस्ट ड्रग्स) अभियान अन्तर्गत पुलिसले पाएको यो सफलताको उच्च प्रशंसा गर्नुभएको छ। पुलिसले पनि सामाजिक सञ्जालमार्फत कडा चेतावनी दिँदै आसाम प्रहरीको आँखा छलेर लागुऔषधको अवैध कारोबार गर्न खोज्नेहरूले निकै भारी मूल्य चुकाउनुपर्ने स्पष्ट पारेको छ। पछिल्लो समय आसाम प्रहरीले सीमावर्ती क्षेत्रमा कडा निगरानी राख्दै दैनिक रूपमा लागुऔषध तस्करहरूलाई पक्राउ गरिरहेको छ।

About Author

Advertisement