आरजी कर मामला:  निर्णयको विरोधमा जुनियर डाक्टरहरूद्वारा सियालदह अदालत बाहिर विरोध प्रदर्शन

00-1-Jr-Doctor

कोलकाता: आरजी कर दुष्कर्म-हत्या मुद्दामा दोषी ठहरिएका सञ्जय रोयलाई कडा सजायको माग गर्दै जुनियर डाक्टरहरूले सोमबार सियालदह अदालत बाहिर विरोध प्रदर्शन गरे। सञ्चारमाध्यमसँग कुरा गर्दै, एक जुनियर डाक्टरले आफ्नो माग लिएर उच्च अदालत जाने कुरामा जोड दिए। उनले भने, “हामी कडा र उदाहरणीय सजाय चाहन्थ्यौं, यो सजाय पर्याप्त छैन। कडा फैसलाको माग गर्दै हामी उच्च अदालत जानेछौं।” पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले सोमबार आरजी कर अस्पताल दुष्कर्म-हत्या मुद्दामा दोषीलाई आजीवन कारावासको सजाय सुनाएकोमा असन्तुष्टि व्यक्त गर्दै भनेकी छिन् कि यदि यो मुद्दा कोलकाता पुलिसमा भएको भए मृत्युदण्ड सुनिश्चित हुने थियो। उनले भनिन्, “मलाई सजायको बारेमा मिडियाबाट थाहा भयो। हामीले सधैं मृत्युदण्डको माग गरेका छौं, र हामी यसमा अडिग छौं। यद्यपि, यो अदालतको निर्णय हो र म यसको बारेमा धेरै भन्न सक्दिन। अन्य तीन घटनामा, कोलकाता पुलिसले ५४-६० दिनभित्र पूर्ण अनुसन्धान गर्यो। यो गम्भीर मुद्दा थियो। यदि यो हाम्रो क्षेत्राधिकारमा भएको भए, हामीले धेरै पहिले नै मृत्युदण्ड सुनिश्चित गरिसकेका थियौंl” मालदामा मिडियालाई सम्बोधन गर्दै मुख्यमन्त्रीले भनिन्। यसैबीच, कांग्रेस नेता सलमान खुर्शीदले फैसलाको स्वागत गर्दै भने कि यसले यस्ता अपराध गर्नेहरूलाई सन्देश दिनेछ। यद्यपि, केन्द्रीय मन्त्री सुकान्त मजुमदारले फैसलाप्रति असन्तुष्टि व्यक्त गर्दै गहन अनुसन्धानको माग गरे।

About Author

Advertisement