कोलकाता: कोलकाताको आरजी कर अस्पतालमा प्रशिक्षार्थी डाक्टरको दुष्कर्म र हत्या मामिलाका आरोपी सञ्जय रोयलाई दोषी ठहर गरिएको छ। सियालदह अदालतमा एडिशनल डिस्ट्रिक्ट एण्ड सेशन्स जज अनिर्बान दासले यो फैसला सुनाएका हुन्। अदालतले सोमबार २० जनवरीमा सजायको घोषणा गर्नेछ। अदालतले फरेन्सिक रिपोर्टलाई आधार मानेर घटनास्थल र पीडितको शरीरमा भेटिएको डीएनए प्रमाणले सञ्जय रोयको संलग्नता पुष्टि गरेको बताएको छ। जज अनिर्बान दासले फैसला सुनाउँदै भने, ‘तिमीले सजाय पाउनै पर्छ।” उनले अझ भने, ‘जसरी तिमीले पीडितको घाँटी थिच्यौ, तिमीलाई मृत्युदण्ड वा आजीवन कारावास हुनसक्छ। भारतीय दण्ड संहिताको धारा ६४ अन्तर्गत कम्तीमा १० वर्षको सजाय र धारा ६६ अन्तर्गत २५ वर्षदेखि आजीवन कारावास वा मृत्युदण्डको प्रावधान छ।‘ अदालतमा सञ्जय रोयले आफू निर्दोष भएको दाबी गरे। कोलकाता पुलिसले पूर्वसिभिक भोलिन्टियर रहेका रोयले भने, ‘मलाई फसाइएको छ, असली अपराधीहरू बाहिर घुमिरहेका छन्। मैले यो अपराध गरेको छैन। जसले यो अपराध गरेका छन्, तिनलाई किन छोडिएको छ?’तर, सञ्जय रोयले पहिले नै अपराध स्वीकार गरेका थिए।
सीबीआईले अक्टोबर २०२२ मा पेश गरेको ४५ पृष्ठको चार्जशीटमा पीडिताको रगत सञ्जय रोयको जिन्स र जुत्तामा फेला परेको उल्लेख छ। घटनास्थलबाट सञ्जयको कपाल र ब्लुटुथ इयरपिस समेत बरामद भएको थियो, जुन उसको फोनसँग कनेक्ट थियो। यो घटना ९ अगस्ट २०२२ मा आरजी कर अस्पतालकी एक प्रशिक्षार्थी डाक्टरको संदिग्ध अवस्थामा मृत्यु भएको मामिलासँग जोडिएको छ। उनको शव अस्पतालको सेमिनार कोठामा फेला परेको थियो। १० अगस्तमा मा सञ्जय रोयलाई पक्राउ गरिएको थियो। अनुसन्धानकर्ताहरूले उनले एक्लै यो अपराध गरेको दाबी गरे पनि पीडितको परिवार र जुनियर डाक्टरहरूको समूहले यो एउटा ठूलो षड्यन्त्रको हिस्सा भएको दाबी गरेका छन्। यो घटना देशभर चर्चाको विषय बनेको थियो, र कार्यस्थलमा डाक्टरहरूको सुरक्षाका लागि व्यापक प्रदर्शन भएको थियो।









