कोलकाता: अगस्त ९ मा कोलकाताको आरजी कर मेडिकल कलेज एवं अस्पतालमा प्रशिक्षार्थी डाक्टरको दुष्कर्म र हत्याको विरोधमा जुनियर डाक्टरहरूको हडताल मंगलबार ३१औं दिनसम्म जारी रह्यो। सर्वोच्च अदालतले ९ सेप्टेम्बरको सुनुवाइमा जुनियर डाक्टरहरूलाई आज साँझ ५ बजेसम्म ड्युटीमा हाजिर हुन निर्देशन दिएको छ। निर्देशनको पालना नगरे राज्य सरकारले कारबाही गर्नसक्ने पनि अदालतले जनाएको छ। जुनियर डाक्टरहरुले आफूहरू र पीडितले न्याय नपाएसम्म काममा फर्कन तयार नभएको बताएका छन्। उनीहरूले आफ्ना माग पूरा गर्न सरकारलाई साँझ ५ बजेसम्मको समय दिएका छन्। उनीहरुले यो आन्दोलनलाई जनआन्दोलन भन्दै सरकार र सर्वोच्च अदालतले गम्भीर भएर सोच्नुपर्ने बताएका छन्। डाक्टरहरूको प्रमुख मागहरूमा राज्य स्वास्थ्य सचिवको बर्खास्त रहेको छ भने विश्राम कक्ष, स्नानगृह, पर्याप्त सुरक्षाकर्मी र सीसीटीभीको व्यवस्थालगायत सुरक्षा व्यवस्थामा सुधारको माग रहेको छl जुनियर डाक्टरहरूले राज्य सरकारले आफ्नो कार्यसम्पादनलाई गलत ढंगले प्रस्तुत गर्दै आफूमाथि झुटा आरोप लगाएको आरोप लगाएका छन्। राज्यका हरेक मेडिकल कलेजमा बिरामी सेवा सञ्चालनमा रहेको र वरिष्ठ डाक्टर कार्यरत रहेको उनीहरूको भनाइ छ। कुल २४५ सरकारी अस्पतालमध्ये २६ मेडिकल कलेज मात्र छन् र जुनियर डाक्टरको संख्या ७ हजार ५ सयभन्दा कम छ भने कुल ९३ हजार दर्ता डाक्टर छन्।








