काठमांडू: नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्।
क्यानले आफ्नो स्वामित्वमा नेपाल प्रिमियर लिग-एनपीएल आयोजना गर्ने तयारी गरिरहेका बेला प्रतियोगिताको स्वामित्वलाई लिएर आमिरले ध्यानाकर्षण गराएका हुन्। क्यानले एनपीएल दिसंबर १ बाट आयोजना गर्ने तयारी गरिरहेको छ।
आमिरले एनपीएलसम्बन्धी सम्पूर्ण अधिकार आफ्नो रहेको दावी गर्दै क्यानले बेवास्ता गरेर प्रतियोगिता आयोजना गर्न लागेको उल्लेख गरेका छन्।
उनले नेपाल प्रिमियर लिग प्रालि र नेपाल क्रिकेट संघ (क्यान) बीच सहमति गरेर मात्र एनपीएल आयोजना गर्न आग्रह गरेका छन् । क्यानले सहमति गरेमा आफूले नेपाल प्रिमियर लिग प्रालि नामसारी गरिदिने पनि उल्लेख गरेका छन्।
उनले त्यसका लागि ७ दिनको समय सीमा पनि दिएका छन्।
अख्तरले एनपिएल नाममा प्रतियोगिता गराएपछि क्यानभित्रै विरोध भएको थियो। एनपिएल लिग क्यान आफैले गर्नुपर्ने आवाज उठेपछि अख्तरले एभरेस्ट प्रिमियर लिगको नाममा अर्को लिग सञ्चालन गरेका थिए।
क्यान आफैले आगामी मंसिर १५ गतेदेखि नेपाल प्रिमियर लिग (एनपिएल) आयोजनाको तयारी गरिरहँदा अख्तरले नाममा दाबी प्रस्तुत गरेका हुन्।










