आफ्नै जीवन र कल्पनाको समिश्रण सविनको ‘बिहानीको किरण…’ (हेर्नुहोस् भिडियो)  

jeeban-laxmi-1

गायक सविन श्रेष्ठको जीवन र सङ्गीतको रंगीन अध्याय, सार्वजनिक गरे बिहानीको किरण…’

काठमाडौं: गायक सविन श्रेष्ठले ‘बिहानीको किरण…’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन्। गीतमा उनकै शब्द र सङ्गीत छ। गीतले प्रेम र एकअर्काबीचको साथको कुरा गर्छ। धोकाधडीमा रुमलिएको युवायुवतीको प्रेममा विश्वास र भरोसाको अपेक्षाको कुरा गर्छ। गीतमा निश्चल र स्वच्छ प्रेमको बयान छ। बिहानीको किरण…’ सविनप्रतिको आशा र उनको सङ्गीत यात्राको उत्सव पनि हो। प्रेम र साथको सुन्दर भावनालाई समेटेर तयार पारिएको गीतले श्रोतालाई सविनको कथा पनि भन्छ। “सङ्गीतले मलाई नयाँ जीवन दिएको छ। यो गीत मेरो जीवनको त्यही यात्रा हो, जसले मलाई जिन्दगीलाई फेरि प्रेमिल बनाएको छ,” सविन भन्छन्, “केही आफ्नै भोगाइ र केही कल्पनाको समीक्षण गीतमा समेटेको छु।” सविनले गीतको भिडियो पनि तयार पारेका छन्। जीवन भट्टराई र लक्ष्मी बर्देवाले अभिनय गरेका छन्। भिडियोको निर्देशन पनि जीवन र लक्ष्मीले नै गरेका छन्। बुद्ध थापाले खिचेको भिडियो विष्णु खड्काले सम्पादन गरेका छन्। गीत निर्माणमा दिमेश श्रेष्ठलगायतको लगानी छ।

यसअघि, सविनले ‘माया…’ बोलको गीत सार्वजनिक गरेका थिए। जुन गीत स्रोता र दर्शकले मन पराएका थिए। सविनलाई सवारी दुर्घटनाले सङ्गीतको बाटो हिँड्न प्रेरित गरेको हो। ३ फरवरी २०२३ (२०७९ माघ २० गते) बिहान सविन एक गम्भीर दुर्घटनामा परे। उनी होसमा आउँदा अस्पतालको शैयामा थिए। शरीरभरि असह्य पीडा, आँखा खोल्दा आफन्तहरूको आँसुले भिजेको अनुहार। त्यो दिनबाट सविनको जीवनको पहिलो अध्याय समाप्त भयो। दोस्रो अध्याय शुरु भयो। त्यो दोस्रो अध्याय सङ्गीतको बाटो हो। उनी भन्छन्, “मेरो जीवनको पहिलो २० वर्ष पहिलो अध्यायलाई भएछ। त्यसपछि दोस्रो अध्याय शुरु भयो, जुन सङ्गीत हो।” सङ्गीतलाई साथी बनाएका उनी यसैसँग बाँचिरहेका छन्। सङ्गीतको साधना र त्यसमा गरेको मेहनतलाई दर्शक र स्रोताले कदर गरेपछि उनी अहिले यसमै रमाइरहेका छन्। अहिले उनको अधिकांश समय सङ्गीतको अध्ययन र साधनामा बित्ने गरेको छ। जसले उनलाई आनन्द दिन्छ। गीत र धुनहरूले उनको मनमा हराएको रंग फेरि फिर्ता गरिदिएको छ। दुर्घटनाले केही समय खोसेको खुशी फिर्ता भएको छ।

दुर्घटनापछि सविनको सङ्गीत यात्रा नारायणगोपालको ‘गल्ती हजार हुन्छन्…’ गीतबाट शुरु भयो। उनका काकासमेत रहेका दिमेश भन्छन्, “सविनले पहिलो पटक गिटार हातमा लिएर त्यो गीत गाएको क्षण म कहिल्यै बिर्सिन सक्दिनँ। उसको स्वरमा सम्भावना देखेपछि मैले उसलाई गाउन प्रेरित गरेँ।” यो प्रेरणा नै सविनको जीवनको नयाँ गन्तब्य बन्यो। सबिन अहिले त्यही गन्तब्य भेट्ने बाटोमा छन्। सविनका लागि दुर्घटनापछि सुरु भएको दोस्रो अध्याय केवल सङ्गीतको यात्रा मात्र होइन, जिन्दगीप्रतिको नयाँ दृष्टिकोण पनि हो। उनी भन्छन्, “समय रंगीन हुनु र मन खुशी हुनु नै जीवनको रंग हो जसले खुशी दिन्छ।”

About Author

Advertisement