आध्यात्मिक अनि साहित्यिक कार्यक्रमका साथ पालन गरियो पायोङमा श्री कृष्ण जन्माष्टमी

IMG-20240827-WA0233

गान्तोक: श्री कृष्ण जन्माष्टमीको अवसरमा दक्षिण सिक्किमको लिङ्मो पायोङ ग्राम पञ्चायत अन्तर्गत पायोङको दुर्गा मन्दिरमा आध्यात्मिक साथै साहित्यिक र सांस्कृतिक कार्यक्रम उत्साहपूर्वक आयोजित भयो। मन्दिर सञ्चालन समितिले आयोजन गरेको कार्यक्रममा बालक बालिकाहरूको उत्साहपूर्वक सहभागिता थियो। समितिले श्री कृष्ण जन्माष्टमीको पूजा अर्चना गरेपछि मन्दिरको प्राङ्गणमा साहित्यिक र सांस्कृतिक कार्यक्रम राखेको थियो जसमा डाँडाखर्क प्राथमिक पाठशाला, पायोङ माध्यमिक विद्यालयका विद्यार्थी साथै गाउँलेहरूले पनि भाग लिएर आफ्नो प्रस्तुती दिएका थिए। स्थानीय आमाहरूद्वारा प्रस्तुत गरिएको संगिनी नृत्य विशेष गरेर बालक बालिकाहरूलाई नेपाली लोक प्रचलनमाथि ज्ञानवर्दक नृत्य थियो।
यस कार्यक्रममा अवकाशप्राप्त शिक्षक तथा कलाकार एलएन कोइराला मुख्य अतिथि रहेका थिए भने स्थानीय पञ्चायत अम्बिका शर्मा, अवकाशप्राप्त शिक्षक बिएन तिवारी, शिक्षक जिएस राई विशिष्ट अतिथी रहेका थिए। मन्दिर सञ्चालन समिति, विद्यार्थी र गाउँलेहरूको उत्साहजनक सहभागितामा आयोजित कार्यक्रममा कथा/कविता वाचन गर्ने र सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेहरूलाई आयोजक समितिले पारितोषिक र प्रमाण पत्र प्रदान गऱ्यो। यसै अवसरमा पूर्व पञ्चायत सदस्य कुबेर नाथ आचार्यद्वारा आफ्नो पितृ सम्झनामा मन्दिरलाई प्रदान गरिएको बेलको विरुवा पर्यावरण संरक्षण र अध्यात्मको प्रतिक स्वरुप मन्दिर परिसरमा रोपिएको छ।
आफ्नो सम्बोधन राख्ने क्रममा मुख्य अतिथि एलएन कोइरालाले यस प्रकारका आध्यात्मिक र साहित्यिक कार्यक्रमलाई एकै पटक आयोजन गर्दा बाल तथा युवा पुस्तालाई सकारात्मकता तर्फ आकर्षित गर्न सहज वातावरण निर्माण हुने बताए। आधुनिकीकरणले भित्र्याएका विकृतिबाट युवा समाजलाई जोगार अघिलान जोखिमपूर्ण अवस्था समाजमा सिर्जना भइरहेकाेले सबैले बेलैमा होस पुर्याएर युवा पुस्तालाई सहि बाटोमा डोर्याउनु आवस्यकता रहेको उनले बताए। मन्दिर सञ्चालन समितिका अध्यक्ष तथा अवकाशप्राप्त शिक्षक रघुपति तिम्सिनाले यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिन सबै एकजुट हुनुपर्ने आग्रह गरे। दिउँसोको आध्यात्मिक र साहित्यिक कार्यक्रमको समापनपछि साँझमा मन्दिरमा भजन कीर्तन पनि गरिएको स्थानीय निलकण्ठ खतिवडाले जानकारी दिएका छन्।

About Author

Advertisement