परिवारका सदस्य सदस्याहरुलाई प्रदान
दार्जिलिङ: दार्जिलिङ प्रेस गिल्डको २५औं स्थापना दिवसमा आदि पत्रकार पादरी गंगाप्रसाद प्रधानलाई मरणोपरान्त दार्जिलिङ प्रेस गिल्ड सम्मान दिन्दै उनको परिवारका सदस्य सदस्याहरुलाई सम्मान जनाइएको छ। यस अवसरमा कार्यक्रममा उपस्थित भारतीय नेपाली गोर्खाहरुका लागि आदि पत्रकार एवं गोर्खे खबर कागतका सम्पादक पाद्री गङ्गाप्रसाद प्रधानको सातौँ पुस्तासम्मका परिवारका सदस्य सदस्याहरुलाई सम्मान जनाइएको छ। पाद्री गङ्गाप्रसाद प्रधानको चौथो पुस्ता नाति स्व महेन्द्र प्रधानको छोरा जीवन प्रधान (जो पाँचौं पुस्ता) र उनका परिवारका सदस्य सदस्याहरू र सातौँ पुस्ताका सबैभन्दा सानो बालकसम्मलाई प्रमुख अतिथि तथा विशिष्ट अतिथिको बाहुलीबाट सम्मान जनाइएको छ। यस अवसरमा पाद्री गङ्गाप्रसाद प्रधानको परिवारलाई खदार्पणसहित शल ओढाएर स्मृति चिन्ह र सम्मान पत्र प्रदान गरेर सम्मान जनाइएको छ।

यस अवसरमा सम्मान पत्र पत्रकार सविता थापाले पठन गरेकी थिइन्। यसको साथै प्रेस गिल्डको सह सचिव एवं पत्रकार धनराज घिसिङले पाद्री गङ्गाप्रसाद प्रधानको जीवनी र योगदान विषयमा पठन गरेका थिए। उक्त सम्मानपछि पाद्री गङ्गाप्रसाद प्रधानको पाँचौँ पुस्ताका जीवन प्रधानले यस सम्मानको लागि दार्जिलिङ प्रेस गिल्डलाई धन्यवाद दिन्दै यो सम्मानले आफुहरुलाई पनि ऊर्जा प्राप्त भएको बताएका छन्।

उल्लेखनीय छ दार्जिलिङ प्रेस गिल्डले आफ्नो स्थापना दिवसको अवसरमा पत्रकारिता क्षेत्रमा योगदान दिने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान जनाउँदै आएको छ भने यसपाली आदि पत्रकार पादरी गंगाप्रसाद प्रधानलाई श्रध्दाञ्जलीसहित उनको परिवारलाई दार्जिलिङ प्रेस गिल्ड सम्मानद्वारा सम्मानित गरिएको छ।










