कालचिनी: मुख्यमन्त्री ममता ब्यानर्जीको आगमनलाई लिएर डुवर्सका विभिन्न सङ्गठन अनि संस्थाहरू हर्ष आत्मप्रकाश गरिरहेको क्रममा बोड़ो मेच, राभा, गारो र टोटो जनजातिको संयुक्त मञ्च आदिम जनजाति एक्य मञ्चले पनि मुख्यमन्त्री ममता ब्यानर्जीको डुवर्स आगमनलाई आन्तरिक स्वागत जनाएको छ| आज आदिम जनजाति एक्य मञ्चका सदस्यहरूले अनलाईन सभा गर्दै उक्त दिन आदिम जनजाति एक्य मञ्चका सदस्यहरु सबै आ-आफ्नो जातिय वेषभूषामा रहेर मुख्यमन्त्रीलाई हात हल्लाएर स्वागत गर्ने निर्णय लिएको मञ्चको सभापति विनय नार्जीनारी र महासचिव बकुल टोटोले जनाएका छन्|
मञ्चका सल्लाहकार बिजनाथ राभा लगायत सभापति बिनय नार्जीनारी र महासचिव बकुल टोटोले उनीहरुको कुनै प्रकारको दाबी अथवा भेटघाटको कार्यक्रम नभए तापनि राज्यको प्रिय मुख्यमन्त्री अलिपुरद्वार र सुभाषिनीमा आउने दिन आफूहरू तिनलाई स्वागत जनाउन तयार रहेको बताएका छन्| गत विधानसभा चुनाउ अघि मुख्यमन्त्री ममता ब्यानर्जीले तिनको सरकार पुनः सत्तामा आएपछि बोड़ो मेच, टोटो,राभा र गारो जनजातिको निम्ति एउटा विकास बोर्ड गठन गर्ने विचार गरेकी थिईन र मुख्यमन्त्रीले बोलेको वचन पुरा हुने कुरामा आफूहरू आश्वस्त रहेको पनि आदिम जनजाति एक्य मञ्चका सदस्यहरूले जनाएका छन्| अर्कोतिर बोड़ो मेच उन्नयन पर्षद कमिटीद्वारा पनि मुख्यमन्त्रीको आगमनमा अलग बोड़ो मेच विकास बोर्ड गठनको दाबी राख्ने कार्यक्रम तय गरेको जान्नमा आएको छ|









