झापा: कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्व। बिहीबार साँझ अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ्य दिइँदैछ। मिथिलाञ्चल मूल थलो भएकाहरूले श्रद्धा र निष्ठाका साथ यो पर्व मनाउन लागेका हुन्।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवको आराधना गरिएको थियो। त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोककथन बमोजिम सोही समयदेखि छठपर्व मनाउने परम्पराको थालनी भएको बताइन्छ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको बताइन्छ। मुख्य दिन शुक्ल षष्ठी भए पनि छठ चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ।









