आगामी पाँच वर्षमा नेपालको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य

IMG-20240517-WA0016.jpg

झापा: आगामी पाँच वर्षमा नेपालको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ। राष्ट्रिय योजना आयोगले काठमाडौँमा सार्वजनिक गरेको सोह्रौँ योजनाको लक्ष्यअन्तर्गत आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ।

योजना आयोगका प्रवक्ता यमलाल भुसालले सोह्रौँ योजनाको बिषयमा प्रस्तुतीकरण गर्दै आर्थिक वृद्धिदर बढाउने लक्ष्य रहेको बताए। उनका अनुसार आर्थिक वर्ष २०२३/२४ मा करिब ३.९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०२९/३० सम्म ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य छ। उनका अनुसार प्रतिव्यक्ति आय वार्षिक दुई हजार तीन सय ५१ अमेरिकी डलर पुर्‍याउने लक्ष्य रहेको छ।
सार्वजनिक सोह्रौँ योजनाका लक्ष्यअनुसार गरिबीको रेखामुनी रहेको जनसङ्ख्या (निरपेक्ष गरिबी) २०.३ प्रतिशतबाट १२ प्रतिशतमा झार्ने लक्ष्य रहेको छ। यसैगरी उपभोक्ता मुद्रास्फीति दर ७.७ प्रतिशतबाट ५ प्रतिशतमा झर्ने लक्ष्य रहेको छ। तथ्याङ्कअनुसार मानव विकास सूचकाङ्क ०.६०१ बाट बढाएर ०.६५ पुर्‍याउने लक्ष्य रहेको छ। मानव सम्पत्ति सूचकाङ्क ७६.३ बाट ७८ पुर्‍याउने लक्ष्य रहेको छ। आर्थिक तथा वातावरणीय जोखिम सूचकाङ्क २९.७ बाट २४ मा झार्ने लक्ष्य पनि तय भएको छ।
यसै गरी अपेक्षित आयु ७१.३ बाट ७३ वर्ष पुर्‍याउने लक्ष्य रहेको छ। ३० मिनेटको दुरीमा स्वास्थ्य संस्थामा पहुँच भएको परिवार ७७ बाट ९० प्रतिशत पुर्‍याउने लक्ष्य रहेको छ। उच्च मध्यमस्तरको खानेपानीको पहुँच भएको घरपरिवार २५.८ बाट ४५ प्रतिशत पुर्‍याउने लक्ष्य रहेको छ। साक्षरता दर ७६.२ बाट ८५ प्रतिशत पुर्‍याउने लक्ष्य रहेको छ। सोह्रौँ योजना कार्यान्वयन गर्नका लागि अनुमानित लगानी करिब एक सय ११ खर्ब लाग्ने भएको छ।

About Author

Advertisement