खरसाङ: आकाशवाणी खरसाङको समाचार विभागको आयोजनामा स्वच्छता नै सेवा अभियान अन्तर्गत कवि गोष्ठी कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आलेको अध्यक्षता र समाजसेवी टीटी लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। आकाशवाणी खरसाङको हलमा सम्पन्न उक्त कवि गोष्ठी कार्यक्रमलाई समाचार वाचिका एंव कार्यक्रमको संयोजिका उषाकिरण सत्यदर्शीले सञ्चालन गरेका थिए। गत १७ सेप्टेम्बरदेखि शुरु भएर आगामी २ अक्टोबरसम्म चल्ने स्वच्छता नै सेवा अभियान विषयमा आकाशवाणी खरसाङको समाचार विभागका प्रभारी अशोक चौरासियाले स्वच्छता नै सेवा अभियानको उद्देश्य र औचित्य विषयमा वक्तव्य राखेका थिए। स्वच्छता नै सेवा अभियान अन्तर्गत यसपालीको थिम -‘स्वभाव स्वच्छता, संस्कार स्वच्छता’ रहेको छ। स्वच्छता नै सेवा अन्तर्गत विभिन्न
विषयहरूलाई लिएर आयोजित उक्त कवि गोष्ठी कार्यक्रममा कविहरू क्रमैले मिना राई लामा, गोमा सुब्बा, द्वारिका छेत्री, सिल्भेष्टर लेप्चा, दिपक ठटाल जलन, रचना अनाकार, एसके छेत्री, दिल थापा, निलमकुमार गिरी, ग्याल्पो लामा, उमेद गोले, सुदर्शन प्रधान अम्बटे, सञ्जय रावत, उषाकिरण सत्यदर्शी, अशोक चौरासिया आदिले स्वच्छता नै सेवा अभियान विषयमा कविता, गजल, लेखहरू पठन गरेका थिए। कार्यक्रममा स्वच्छता नै सेवा अभियान विषयमा वरिष्ठ साहित्यकार ऋषि राईले वक्तव्य राखेका थिए। कार्यक्रममा उपस्थित प्रमुख अतिथि समाजसेवी टीटी लामाले आफ्नो वक्तव्यमा स्वच्छता शुरुमा घरबाट हुनुपर्छ भन्दै त्यसपछि स्कूलमा हुनुपर्छ र यसको लागि स्कूलमा सिकाउनुपर्छ भन्दै मैला जथाभावी फ्याँक्नु हुँदैन भनी बताएका छन्। उनले खरसाङ बजार क्षेत्रमा सफाई गर्नलाई आफुले एनजीओ खोलेर कार्य शुरु गरेको साथै सरकार र मन्त्रीहरू समेतलाई ज्ञापन दिने कार्य गरेको तर केही नभएको बताएका छन्। उनले सर सफाईक लागि सबैले एक भएर सहयोग गर्दै कार्य गर्नु पर्ने आवश्यकतामाथि जोड़ दिन्दै यसको लागि व्यवस्थित प्रकारले सफाई अभियान चलाउनु आवश्यक रहेको बताएका छन्। टीटी लामाले आफु विभिन्न देशहरू घुमेको र त्यहाँ सफाई विषयमा रहेको अनुभवहरू पनि साझा गरेका थिए।

कार्यक्रममा सभाध्यक्ष आकाशावाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आलेले कवि गोष्ठीको परिणाम तत्कालै नहोला तर यसको प्रभाव एकदमै दुर्गामी र प्रभावशील हुने बताएका छन्। उनले सर सफाई गर्ने कार्य विषयमा प्रभावकारी व्यक्तिहरूले आह्वान् गर्दा प्रभावकारी ढंगमा हुने बताउँदै आजको कवि गोष्ठी कार्यक्रममा स्वच्छतामाछि एकदमै राम्रो कविताहरू सुन्न पाइयो भनी बताएका छन्। कार्यक्रममा आकाशावाणी खरसाङको अधिकारीहरू र समाचार विभागका समाचार वाचकहरू पनि उपस्थित रहेका थिए।








