गान्तोकः आकाशवाणी गान्तोकले जी २० कार्यक्रम अन्तर्गत आगामी ३० अगस्त, २०२३ को दिन नरबहादुर भण्डारी डिग्री कलेजको प्रेक्षागृहमा अपरान्ह १ बजीदेखि युवा समागम कार्यक्रम आयोजना गर्न निश्चय गरेको छ। आकाशवाणी गान्तोकका कार्यालय प्रमुख, सहायक निर्देशक अभियान्त्रिकी कमल कुमार श्रीवास्तवद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, समारोहमा राज्यका सड़क अनि पुल, खेलकुद तथा युवा मामिला विभागका मन्त्री सामडुप लेप्चा मुख्य अतिथि रहनेछन्।
नयाँ शिक्षा निती, नारी सशक्तिकरण, आपदा प्रबन्धन अनि पर्यटन विषय आमन्त्रित विशेषज्ञहरूले आ-आफ्नो वक्तव्य प्रस्तुत गर्नेछन् भने विभिन्न कलेजका चुनिएका एक-एक विद्यार्थीहरूले डिजिटल अर्थव्यवस्थामाथि आ-आफ्नो विचार व्यक्त गर्नेछन्। यसको साथै नाम्चीका नृत्य टोलीले विभिन्न प्रकारका नृत्यहरू अनि माना ब्याण्डका कलाकारहरूले अङ्ग्रेजी गीतहरू प्रस्तुत गर्नेछन्। आकाशवाणी गान्तोकले सबै दर्शक-श्रोताहरूको उपस्थितीको कामना गरेको छ।









