तादोङ: पूर्वोत्तर पार्वत्य क्षेत्र (एनईएचआर) का लागि भारतीय कृषि अनुसन्धान परिषद् (आईसीएआर) को सिक्किम केन्द्र, तादोङले बुधवार खरिफअघिको फसल नियोजन एवं कृषक–वैज्ञानिक अन्तरक्रिया हितधारक कार्यगोष्ठी आयोजना गर्ने भएको छ।
कार्यक्रमको उद्घाटन सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले गर्नेछन्। कार्यगोष्ठीमा आईसीएआरद्वारा विकसित विभिन्न कृषि प्रविधि तथा नवप्रवर्तनको प्रदर्शनीसमेत आयोजना गरिने जनाइएको छ।
भ्रमणका क्रममा राज्यपाल माथुरले आईसीएआरको अनुसन्धान फार्मको अवलोकन गर्नुका साथै प्रदर्शनी र अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। कार्यगोष्ठीमा सिक्किमका विभिन्न जिल्लाबाट एक सयभन्दा बढी कृषक, उद्यमी तथा सरकारी अधिकारीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।









