आँधीबेहरी र असिनापानीले रुख ढल्दा एक महिलाको मृत्यु, चार घाइते

n70466535817735931216777f28c4dbd15523fe1f7cee655f839caac74bc0164ef9e707219c670411136e40

गान्तोक: आइतवार साँझ अचानक आएको आँधीबेहरी र असिनापानीले सिक्किमका विभिन्न क्षेत्रमा जनधनमा क्षति पुगेको छ। रुख ढल्दा एक महिलाको मृत्यु भएको छ भने एउटा सवारी साधनमाथि रुख खस्दा चारजना घाइते भएका छन्।
गान्तोक जिल्लाको तुमिन–लिङ्गी निर्वाचन क्षेत्र अन्तर्गत राक्दोङ कफेरमा रुख ढल्दा ५५ वर्षीया कलादेवी छेत्रीको मृत्यु भएको हो। रुख ढलेर टाउकोमा गम्भीर चोट लागेपछि उनको ज्यान गएको गान्तोकका जिल्लापालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
यसैगरी पाकिम प्रहरी थाना क्षेत्रको छोटा सिङताममा यात्रुवाहक सवारी साधनमाथि रुख ढल्दा चारजना यात्री घाइते भएका छन्। उनीहरूलाई सामान्य चोट लागेको र हाल उनीहरूको मणिपाल अस्पतालमा उपचार भइरहेको जनाइएको छ। उक्त घटनामा सवारी साधनमा पनि ठूलो क्षति पुगेको छ।
पछिल्ला केही दिनदेखि राज्यमा लगातार वर्षा भइरहेका बेला आइतवार साँझ आएको आँधीबेहरी र असिनापानीले गान्तोक जिल्लाका विभिन्न क्षेत्रमा रुख ढलेर घरहरूमा क्षति पुगेको बताइएको छ।
रानीपुलदेखि गान्तोकसम्मको राष्ट्रिय राजमार्गका विभिन्न स्थानमा रुख ढल्दा सवारी आवागमन केही समय अवरुद्ध भएको थियो। सडक किनारमा पार्किङ गरिएका केही सवारी साधनमा पनि क्षति पुगेको जनाइएको छ।

यसैबीच नान्डोक माले गाउँमा आँधीबेहरीले चारवटा घरको छत उडाएको स्थानीय प्रशासनले जनाएको छ। रुख ढलेर बिजुलीका पोल र तारमा क्षति पुगेपछि विभिन्न स्थानमा विद्युत आपूर्ति पनि प्रभावित भएको छ।
जिल्लापालले सम्बन्धित निकायलाई सडक खुलाउने, विद्युत आपूर्ति पुनःस्थापना गर्ने र आवश्यक राहत कार्य सञ्चालन गर्न निर्देशन दिएका छन्।

About Author

Advertisement