असाधारण पुनरागमन गर्दै अन्तिम १६-मा पुग्यो बेल्जियम

photocollage_202672124954960

सिएटल: बेल्जियमले असाधारण पुनरागमनको साथ फिफा वर्ल्ड कप २०२६-को अन्तिम १६ चरणमा प्रवेश गऱ्यो। सिएटल स्टेडियममा बुधवार अबेर राति खेलिएको म्याच चरम रोमाञ्चक रह्यो, जसमा बेल्जियमले अफ्रिकी महाशक्ति सेनेगललाई ३-२-ले पराजित गऱ्यो। म्याचमा सेनेगलको टीम जीतको नजिक पुगिसकेको थियो कारण ८५औं मिनटसम्म पनि बेल्जियम २ गोलले पछि रहेको थियो। चरम दबाउबीच यूरोपेली टीमले ५ मिनटभित्र म्याचमा बराबरी हासिल गऱ्यो। त्यसपछि अतिरिक्त समयको खेलमा अझ एक गोल थपेर बेल्जियमले यादगार जीत हासिल गऱ्यो। बेल्जियमको यस जीतमा युरी टिलेमान्स नायक रहे, जसले टीमको निम्ति अन्तिम २ गोल गरे, जसमा अतिरिक्त समयमा पेनल्टीबाट हासिल गरेको गोल पनि सामेल छ। अब अन्तिम १६-मा बेल्जियमको भिड़न्त अमेरिकासँग हुनेछ, जसले अन्य एउटा म्याचमा बेस्निया एण्ड हर्जेगोविनालाई २-०-ले पराजित गऱ्यो। यसबीच ग्रुप चरणदेखि नै असाधारण प्रदर्शन गर्ने सेनेगलले चाहिँ टुर्नामेण्टबाट बिदा लियो। बेल्जियम र सेनेगलबीच म्याच आशानुरुप शुरुदेखि नै रोमाञ्चले भरपूर रह्यो। म्याचमा ४७ प्रतिशत पोजशनको साथ खेल्ने सेनेगलले २४औं मिनटमा हबीब डियाराको गोलको सहायताले बढ़त हासिल गऱ्यो। सेनेगलले त्यस बढ़तलाई मध्यान्तरसम्म कायम राख्यो। दोस्रो हाफको खेलमा पनि सेनेगलले शुरुमै गोल हासिल गऱ्यो। इस्माइला सारले ५१औं मिनटमा गोल गरी अफ्रिकी टीमको बढ़तलाई दोब्बर पारे। दुई गोलले पछाड़िएपछि बेल्जियममाथि टुर्नामेण्टबाट बाहिर हुने संकट देखिएको थियो। चरम दबाउबीच पनि बेल्जियमले हरेस खाएन अनि अन्तिम समयमा असाधारण पुनरागमन गऱ्यो। स्थानापन्न खेलाड़ी रोमेलु लुकाकुले ८६औं मिनटमा गोल गरी बेल्जियमको निम्ति आशा जगाए। त्यसको ३ मिनटपछि युरी टिलेमान्सले गोल गरेर बेल्जियमलाई २-२-को बराबरीमा पुऱ्याए। उनले लिएण्ड्रो ट्रोसार्डको सटीक क्रसमा हेडरद्वारा गोल गरे। निर्धारित ९० मिनट र इञ्ज्युरी टाइममा थप गोल नहुँदा म्याच अतिरिक्त समयमा पुग्यो। अतिरिक्त समयको खेलमा पनि दुवै टीमले निर्णायक गोलको निम्ति लगातार प्रयास गऱ्यो तर सफलता हासिल गर्न सकेन। यसैकारण म्याच पेनल्टी शूटआउटसम्म पुग्ने लागिरहेको थियो तर अतिरिक्त समयको इञ्ज्युरी टाइममा बेल्जियमलाई पेनल्टी हासिल भयो। भीएआर समीक्षाबाट हासिल भएको त्यही मौकालाई काममा लगाउँदै युरी टिलेमान्सले इञ्ज्युरी टाइमको पाँचौं मिनटमा गोल गरेर बेल्जियमलाई यादगार जीत दिलाए। यसरी बेल्जियमले वर्ल्ड कपको नक्आउट चरणमा २ गोलले पछाड़िएपछि दोस्रोपल्ट म्याच जितेर देखायो। यसअघि २०१८ वर्ल्ड कपमा पनि अन्तिम १६-मा जापानविरुद्ध २ गोलले पछाड़िएपछि टीमले ३-२-ले जीत हासिल गरेको थियो।

About Author

Advertisement