उदालगुड़ी: राजनीतिक क्षेत्रमा महिलाहरूका लागि ३३ प्रतिशत आरक्षण सुनिश्चित गरिनुपर्ने माग राख्दै उदालगुड़ी जिल्ला भाजपा महिला मोर्चाले बुधबार टङ्गलामा विशाल विरोध प्रदर्शन गरेको छ। संसद्मा महिला आरक्षण विधेयकको विपक्षी दलहरूले अवरोध पुऱ्याएको आरोप लगाउँदै महिला मोर्चाले सडकमा उत्रिएर विरोध जनाएको हो।
टङ्गला नगरस्थित सुजित नार्जारी प्रेक्षागृहबाट सुरु भएको विरोध ऱ्याली मङ्गलदै भुटिया चाङ्ग मार्ग हुँदै बरदलै भवनसम्म पुगेको थियो। ऱ्यालीमा सहभागी महिलाहरूले कांग्रेससहितका विपक्षी दलहरूविरुद्ध चर्को नाराबाजी गर्दै हात-हातमा प्लेकार्ड बोकेका थिए। प्रदर्शनलाई सम्बोधन गर्दै असम प्रदेश भाजपा महिला मोर्चाकी अध्यक्ष निलीमा देवीले केन्द्र सरकारले महिलालाई अधिकार दिन खोज्दा विपक्षी दलहरूले एकजुट भएर बाधक बनेको आरोप लगाइन्।
उक्त विरोध कार्यक्रममा प्रदेश अध्यक्ष निलीमा देवीका साथै उदालगुड़ी जिल्ला भाजपा अध्यक्ष अजय हजारिका, सचिव सुजित सरकार, पार्षद अर्जुन दैमारी र दिगङ्त बरुवा लगायत ठूलो संख्यामा स्थानीय महिला नेतृ तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। भाजपाले देशभर नै यतिबेला महिला आरक्षणको मुद्दालाई लिएर विभिन्न राज्य र जिल्लाहरूमा आन्दोलनका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।











