सुमन गड़तोला
मटंगापार: सीमा क्षेत्रको सर्वाङ्गीण विकास र स्थानीय जनताको साथ राम्रो सम्बन्ध स्थापना गर्ने उद्देश्यका साथ आज ६४औँ बटालियन सशस्त्र सीमा बल (एसएसबी)को पहलमा निशुल्क पशु स्वास्थ्य शिविर आयोजना गरियो।
बरमा स्थित ६४औँ बटालियनका कमाण्डेन्ट अनुज कुमारको विशेष निर्देशनमा र उत्तर–पूर्व क्षेत्रका लागि नागरिक कल्याण योजनाअन्तर्गत दरंगा सीमा चौकी अन्तर्गत पर्ने तामुलपुर जिल्लाको मटंगापारमा यो जनहितकारी कार्यक्रम सम्पन्न भयो।
गुवाहाटी सीमा मुख्यालयका चिकित्सक डा. ई. चौबा सिंहको अध्यक्षतामा आयोजित शिविरमा क्षेत्रका किसानहरूले आफ्ना गाई–भैँसी, बछड़ा–बछडी, बाख्रा तथा सुँगुरजस्ता पशुहरूको स्वास्थ्य जाँच गराए र विशेषज्ञहरूसँग आवश्यक परामर्श पनि प्राप्त गरे।

उल्लेखनीय कुरा के भने, शिविरमा करिब ४० भन्दा बढी पशुहरूको निशुल्क उपचार गरिएको थियो र आवश्यक औषधिहरू पनि पूर्ण रूपमा निशुल्क वितरण गरियो। यस कार्यक्रममा मटंगापार क्षेत्रका २३ परिवारले प्रत्यक्ष रूपमा लाभ उठाएका छन्। एसएसबीको यस सकारात्मक पहलप्रति सन्तोष व्यक्त गर्दै मटंगापारका गाउँबुजुर्ग मनु बोडो र स्थानीय बासिन्दाहरूले सुरक्षा बलप्रति आभार व्यक्त गरेका छन्। उनीहरूको विश्वास छ कि यस्ता जनकल्याणकारी कार्यक्रमहरूले सीमा क्षेत्रहरूमा सुरक्षा बल र सर्वसाधारणबीचको सम्बन्ध अझ बलियो बनाउनेछ।









