प्राथमिक कृषि ऋण समबाय समितिलाई रूपान्तरण गरिँदै
गुवाहाटी: असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले समृद्ध कृषकले नै समृद्ध असमको निर्माण गर्ने बताएका छन्। कृषकहरूका लागि विभिन्न सरकारी सेवाहरू सहजै उपलब्ध गराउने उद्देश्यका साथ राज्य सरकारले एउटा ठूलो र महत्त्वपूर्ण कदम चालेको जानकारी उनले दिएका छन्। मुख्यमन्त्री सरमाले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुक पेज मार्फत राज्यका प्राथमिक कृषि ऋण समबाय समिति (प्याक्स) हरूलाई अत्यावश्यक सेवा प्रदान गर्ने ‘एकीकृत ग्रामीण सेवा केन्द्र’ का रूपमा रूपान्तरण गरिरहेको बताएका छन्। यस पहल मार्फत ग्रामीण क्षेत्रका कृषकहरूका लागि एउटा सहज, सरल र शक्तिशाली व्यवस्थाको निर्माण भइरहेको उनले स्पष्ट पारेका छन्।
यस ऐतिहासिक कदमले आधुनिक प्रविधि, वित्तीय सुविधाहरू र सरकारका विभिन्न जनकल्याणकारी योजनाहरूलाई राज्यको प्रत्येक गाउँ-गाउँसम्म पुर्याउन महत्त्वपूर्ण र सहयोगी भूमिका निर्वाह गर्ने मुख्यमन्त्रीले उल्लेख गरेका छन्। यस व्यवस्थाले गाउँका कृषकहरूलाई सरकारी योजना र अनुदानका लागि टाढा धाउनुपर्ने बाध्यताको अन्त्य गर्नेछ।
यसका साथै राज्य सरकारको यो प्रयासले हाम्रा कृषक दाजुभाइ तथा दिदीबहिनीहरूलाई अझ बढी सक्षम, आत्मनिर्भर र आर्थिक रूपमा समृद्ध बनाउन ठूलो मद्दत पुग्ने विश्वास मुख्यमन्त्री शर्माले व्यक्त गरेका छन्।









