न्यूयोर्क: महिला टेनिसमा ७ पल्टकी ग्राण्ड स्ल्याम च्याम्पियन भीनस विलियम्स जनवरी २०२६-मा अष्ट्रेलियन ओपनमा फर्किन गइरहेकी छन्। मेलबर्नमा १८ जनवरीदेखि शुरु हुने यस प्रतिष्ठित टुर्नामेण्टमा उनलाई वाइल्ड कार्डको माध्यमले मुख्य ड्र-मा स्थान प्राप्त भएको छ। यसरी भीनस गत ५ सालमा यस टुर्नामेण्टमा आफ्नो पहिलो म्याच खेल्न गइरहेकी छन् अनि यो उनको विवाहको केही दिनपछि हुन गइरहेको छ। ४५ वर्षीय भीनस विलियम्स अष्ट्रेलियन ओपनको मुख्य ड्र-मा खेल्ने सबैभन्दा अधिक उमेरकी महिला खेलाड़ी बन्नेछिन्। उनले जापानकी किमिको डेटकी रेकर्ड तोड़ेकी छन्, जो २०१५-मा ४४ सालको उमेरमा मेलबर्न पार्कमा खेलेकी थिइन्। भीनसले भनिन्, म अष्ट्रेलियामा फर्किएर उत्साहित छु अनि अष्ट्रेलियाई गर्मीमा प्रतिस्पर्धा गर्न तयार छु। मसँग त्यहाँको धेरै अविस्मरणीय यादहरू रहेको छ अनि म यस अवसरको निम्ति आभारी छु। अष्ट्रेलियन ओपनका आयोजकहरूले भीनसको यो कमब्याक उनको अष्ट्रेलियन ओपनमा पदार्पणको २८ सालपछि भइरहेको पुष्टि गरेका छन्। १९९८-मा उनले आफ्नी बहिनी सेरेनालाई दोस्रो राउण्डमा पराजित गरेकी थिइन् तर क्वार्टर फाइनलमा अमेरिकी खेलाड़ी लिण्डसे डेवेनपोर्टविरुद्ध पराजित भएकी थिइन्। भीनस २ पल्ट (२००३ र २०१७) अष्ट्रेलियन ओपनमा महिला एकलको फाइनलमा पुगेकी थिइन्। टुर्नामेण्टमा उनको जीत-हारको रेकर्ड ५४-२१ रहेको छ। उनले अन्तिमपल्ट २०२१-मा टुर्नामेण्टमा हिस्सा लिएकी थिइन्।










