कालचिनीः विश्वकवि रवीन्द्रनाथ ठाकुरको १६२औँ जन्म जयन्ती मंगलाबार सर्वत्र पालन भईरहेको क्रममा अलिपुरद्वार विश्विविद्यालयको प्रेक्षागृहमा पनि मनाईएको जानकारी अलिपुरद्वार विश्वविद्यालय सुत्रले दिएका छन्। अलिपुरद्वार विश्वविद्यालयको बाङ्गला विभागको पक्षबाट पालन गरीएको उक्त समारोहको उद्घाटन अलिपुरद्वार विश्वविद्यालयका उपाचार्य डा. महेन्द्रनाथ रायको करकमलबाट भएको थियो। गुरुदेव रवीन्द्रनाथ ठाकुरको प्रतिकृतिमा धुपदीप प्रज्वलन साथै माल्यार्पण पश्चात डुवर्सको विभिन्न जनजातीय लोक संस्कृति कलाकारहरूले नृत्य प्रदर्शन साथै कविता वाचन प्रस्तुत गरेको थियो।
यस अवसरमा अलिपुरद्वार विश्वविद्यालयका भारप्राप्त निबन्धक अर्थात रेजिस्ट्रार डा. जयदीप राय लगायत अन्यान्य प्राचार्यहरूको उपस्थिति रहेको थियो।
अलिपुरद्वार विश्वविद्यालयको उपाचार्य डा. महेन्द्रनाथ रायले विश्वकवि रवीन्द्रनाथ ठाकुरको जन्मदिनको महत्व विश्वव्यापी रहेको छ भने स्वयं गुरुदेव रवीन्द्रनाथ ठाकुर एकजना अन्तर्राष्ट्रिय प्रसिद्धिप्राप्त महान व्यक्तित्व रहेकोले आउँदो प्रजन्म शिक्षित केटा केटीहरूलाई तिनको आदर्श र कृतिले सही मार्गदर्शन गराउन ठूलो आधार तयार गरीदिएको जनाएका छन्। गुरुदेव रवीन्द्रनाथ ठाकुरको विश्व प्रसिद्धिलाई डुवर्सको मिश्रित भाषा, संस्कृति र कलाले पनि आत्मसात गरेकोले यस उपलक्ष्यमा बङ्गला, नेपाली, आदिवासी लगायत अन्यान्य जनजातिका सांस्कृतिक कार्यक्रम पनि सम्पन्न गरीएको आयोजक कमिटीको पक्षबाट जानकारी गराईएको छ।










