इटानगर: राजीव गान्धी विश्वविद्यालय (दोइमुख) का नवनियुक्त उपकुलपति प्रा. (डा.) शिवराज जीले अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
मुख्यमन्त्री निवासमा बिहीबार भएको उक्त भेटघाटका क्रममा मुख्यमन्त्री खाण्डुले नवनियुक्त उपकुलपति डा. शिवराजलाई स्वागत गर्दै सफल र प्रभावकारी कार्यकालको शुभकामना व्यक्त गरे।
भेटपछि सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै मुख्यमन्त्री खाण्डुले प्रा. (डा.) शिवराजको सबल नेतृत्वमा राजीव गान्धी विश्वविद्यालयले सफलताका नयाँ उचाइहरू हासिल गर्ने विश्वास व्यक्त गरे।
”उहाँको कुशल नेतृत्वमा विश्वविद्यालयले प्राज्ञिक क्षेत्रमा नयाँ कोसेढुङ्गा स्थापना गर्नेछ,” मुख्यमन्त्री खाण्डुले भने, “राज्यको शैक्षिक तथा विकासात्मक आकाङ्क्षाहरूलाई पूरा गर्न विश्वविद्यालयले आगामी दिनमा अझ ठूलो र महत्त्वपूर्ण योगदान पुर्याउनेमा म पूर्ण विश्वस्त छु।”











