अम्बटे चियाबारीको यस्तो अवस्था केही राजनीति पार्टी अनि ट्रेड यूनियनका नेताहरू तथा प्रबन्धक अनि मालिकवर्गको मेलमिलापले हो: बन्दना राई

IMG-20221018-WA0232.jpg

खरसाङ: बन्द रहेको खरसाङको अम्बटे चियाबारीमा आज चियाबारी सुरक्षा समितिका प्रतिनिधिहरू पुगेर एउटा सभा आयोजना गरेका छन्। दशैँको मुखैमा चिया कमान बन्द गरेर प्रबन्धकहरू भागेपछि स्थानीय श्रमिकहरूको स्थिति चिन्ताजनक बनेपछि श्रमिकहरूकै आग्रहमा चियाबारी सुरक्षा समितिका प्रतिनिधिहरू आज अम्बटे चियाबारी पुगेर त्यहाँ आयोजित एउटा सभालाई स्मबोधन गरेका छन्। गणेश छेत्रीले सञ्चालन गरेको सभालाई स्मबोधन गर्दै अधिवक्ता एवम् चियाबारी सुरक्षा समिति मुख्य प्रतिनिधि बन्दना राईले आज अम्बटे चियाबारीको यस्तो अवस्था यहाँका केही राजनीति पार्टी अनि ट्रेड यूनियनका नेताहरू तथा प्रबन्धक अनि मालिकवर्गको मेलमिलापले हो भनी जनाइन्। तिनले अम्बटे चियाबारीका श्रमिकहरूलाई न्याय दिलाउन सुप्रिम कोर्टसम्म पनि जाने बताउँदै यद्यपि यसको निम्ति स्थानीय श्रमिकहरू एक हुनुपर्ने बताइन्। तिनले अब झोले नेताहरूको विश्वास र भरोशामा नपर्ने जनाउँदै आफ्नो हक र अधिकारको निम्ति आफै लड्नु पर्ने अवगत गराइन्। अधिवक्ता प्रताप खातीले चिया श्रमिकहरूको अप्राप्त सहुलियत र सुविधा अनि हक,अधिकारलाई लिएर आफूहरू न्यायालयसम्म पुगेको अवगत गराउँदै श्रमिकहरूले पाउनु पर्ने आफ्नो हक र अधिकारका विभिन्न कानुनी प्रक्रियाहरूको बारेमा जानकारी दिए।

चियाबारी सुरक्षा समितिका अध्यक्ष तिलक लुङगेलीले वर्तमान जीटीए अध्यक्ष अनि सभासद्हरूले चियाबारी क्षेत्रका मानिसहरूलाई सटीक न्याय दिन नसकेको औ उल्टै चियाबारीलाई जीटीए क्षेत्रभित्र पर्दैन भनिएको सन्दर्भलाई अघि राख्दै अविलम्ब जीटीए कार्यपालको पदबाट राजीनामा दिनुपर्ने माग गर्दै उनको स्थानमा चियाबारीकै कोही एक योग्य व्यक्ति जसले चियाबारीको समस्यालाई बुझ्छ अनि समस्याको समाधान गर्छ उसैलाई राख्ने पनि बताए। सभालाई स्थानीय श्रमिक तथा चियाबारी सुरक्षा समितिका प्रतिनिधिहरूले पनि सम्बोधन गरेका थिए।

About Author

Advertisement