नयाँ दिल्ली: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यूक्रेनलाई आफ्नै देशमा ‘पेट्रियट’ क्षेप्यास्त्र इन्टरसेप्टर उत्पादन गर्न अनुमति (लाइसेन्स) दिने घोषणा गरेका छन्। टर्कीको राजधानी अंकारामा आयोजित नेटो शिखर सम्मेलनका क्रममा यूक्रेनी राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीसँगको भेटवार्तापछि ट्रम्पले उक्त घोषणा गरेका हुन्। यो कदमलाई यूक्रेनसँग अमेरिकाको सैन्य सहयोग थप सुदृढ हुने संकेतका रूपमा हेरिएको छ।
भेटपछि राष्ट्रपति ट्रम्पले दुई नेताबीच उत्कृष्ट कार्यसम्बन्ध बनेको उल्लेख गर्दै रूससँग जारी युद्ध अन्त्यका लागि सवै पक्षमाथि ठूलो दबाब रहेको बताए। ट्रम्पले यूक्रेनलाई तत्काल केही पेट्रियट इन्टरसेप्टरहरू उपलब्ध गराउने र चाँडै नै यूक्रेनले यसको स्वदेशी उत्पादन सुरु गर्न सक्ने विश्वास व्यक्त गरे।
यूक्रेनी सहरहरू र संवेनदनशील पूर्वाधारहरूमा रूसले क्षेप्यास्त्र तथा ड्रोन आक्रमण तीव्र पारेपछि यूक्रेनका लागि पेट्रियट वायु रक्षा प्रणाली (एयर डिफेन्स सिस्टम) सबैभन्दा ठूलो आवश्यकता बनेको छ। ट्रम्पले रूसी सैन्य शक्तिका सामु दृढतापूर्वक देशको रक्षा गरेको भन्दै जेलेन्स्कीको नेतृत्वको खुलेर प्रशंसा गरे।
युद्ध अन्त्यका लागि दबाब
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनमाथि युद्ध रोक्न थप दबाब बढाउनेबारे सोधिएको प्रश्नमा ट्रम्पले कुनै ठोस योजना खोल्न त चाहेनन्, तर युद्ध अन्त्यका लागि पुटिन र अन्य सबै पक्षमाथि व्यापक दबाब रहेको बताए। यदि कुनै शान्ति सम्झौता भएमा अमेरिकाले युरोपेली सहयोगीहरूसँग मिलेर रूसले पनि सम्मान गर्ने खालको सुरक्षा ग्यारेन्टीको ढाँचा तयार पार्ने ट्रम्पको भनाइ थियो। उनले आफू अनुकूल समयमा यूक्रेन भ्रमण गर्न तयार रहेको संकेत समेत गरे।










