
निष्पट्ट कालो अँध्यारो रातले अँगालेको मेरो एकान्तका आँसुको पल।
खिन्न मुटुले दारा किट्दै निकालेको पीडाको आह!
मेरो हरेक साससँगै टाँसिएको वियोगको व्यथा।
मनका हरेक ढुकढुकीसँगै झस्किने झझल्कोहरु,
परेली झपकाउँदैमा बितेका सुनौला जीवन अहिले एक अन्तहीन विलम्बको अन्तविराम पल।
चट्टानले थिचेका गहक थाम्नु नसक्ने भारी।
आमाले त पुरानो गेमेटी बक्स देखेर झरेको छोराको आँखाका आँसुलाई एकैक्षण त खिल्ली पनि उडाइन्।
तर म त त्यसभित्रको म कक्षा आठ छँदा तिमीले लेखेको अन्तिम पत्र देखेर रोएको।
आमालाई त्यो मसीले पोतिएको पुरानो नचाहिने कागज लाग्यो होला।
तर मित्र म कसलाई सुनाउँ?
तिमीले एउटा इरेजर हराउँदा बाबुको डरले आफ्नो ज्यानै लिन्छौं भनेर मलाई के थाहा।
म कसलाई सुनाउँ, त्यो इरेजरको लोभले मलाई छायाँ छोप्यो।
म कसलाई सुनाउँ त्यो इरेजर चोर म नै हूँ।
म कसलाई सुनाउँ तिम्रो हत्यारा म नै हूँ।
त्यो इरेजर कहिले काम लागेन मित्र।
आजसम्म मेटाउन सकेको छुइनँ।
मेरा यी हातहरुबाट तिम्रो घातको निशानीका रगत।
तिम्रो अन्तिम शब्द ‘मलाई माफ गरिदिनु बाबा’।
आह!
मलाई माफ कहिले नगरिदिनु साथी।
मलाई माफ कहिले न गरिदिनु।










