विधानसभामा पुगेर चियाबारी श्रमिकहरुको आवाज उठाउनलाई भोटमा उठेको छु: अमर लामा
खरसाङ: खरसाङ विधानसभा समष्टिको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी अमर लामाले मंगलवार तीनधारे चियाबारीमा आफ्नो चुनाव प्रचार गरेका छन्। तीनधारे चियाबारीको कारखाना परिसरमा स्थानीय चियाबारी श्रमिकहरुसित भेटघाट गर्दै उक्त स्थानमा आयोजित चुनावी सभालाई अमर लामाले सम्बोधन पनि गरेका थिए। चियाबारी श्रमिकहरुको दिउँसोको खाना खाने समयमा उपस्थित भएर श्रमिकहरुलाई सम्बोधन गरेका थिए। उनले आफु विधायक भएर गएपछि चियाबारी श्रमिकहरुको निम्नत्तम रोजगारको लागि विधानसभामा गएर आवाज उठाउने बताए। उनले राज्य सरकारले चियाबारी श्रमिकहरुको लागि हेल्थ इन्स्योरेन्स शुरु गर्न लागेको जानकारी गराएका छन्। उनले पहिलाको विधायकहरुले चियाबारी श्रमिकहरुको आवाज सठीकसितले उठएन भन्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले सरकारसित मिलेर काम गर्ने हुनाले श्रमिकहरुको आवाजलाई सठीक रुपमा सरकार समक्ष उठाउने बताए। अमर लामाले अघि भने, आफु विधानसभामा पुगेर चियाबारी श्रमिकहरुको लागि निम्नत्तम रोजगारको लागि आवाज उठाउनेछु। मपछि अर्को पार्टीको पनि चुनाव प्रचारमा आउनेछ र हामीले चामल दिन्दैछ भन्दै भोट माग्छ होला। तर हामीले चामल मागेको होइन, हामीले मागेको गोर्खाल्याण्ड हो। हामीले मागेको ११ जात गोष्ठीलाई जनजाति मागेको हो। तर अहिलेसम्म हाम्रो भोट चामलसित साट्दैछ। यसपाली हामीले चामलसित भोट साट्नु हुँदैन।’
अमर लामाले अझ भने, मैले चियाबारी हितमा काम गर्दिन र चियाबारी जीटीए पर्दैन भनेर विपक्षीले अफवाह फैलाउने काम गर्दैछ तर मेरो लामो अनुभवले कपाल फुलेको हो। मैले श्रमिकहरुको हितमा काम गरेको छु। श्रमिकहरुको लागि धेरैपल्ट बोलेको छु। यसपाली विधानसभामा पुगेर चियाबारी श्रमिकहरुको आवाज उठाउनलाई भोटमा उठेको छु।’
लामाले अझ भने, म दार्जिलिङको भए पनि जितेर विधायक बनेको खण्डमा मेरो कार्यालय खरसाङमै हुनेछ। म खरसाङमा नै बस्नेछु। खरसाङमा मलाई जनताले सजिलै भेट्न सक्नेछन्। २४ घण्टा नै जनताको सेवामा रहनेछु।’

तीनधारे चियाबारीमा आयोजित चुनाउ सभालाई हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको संयोजक राजेस थापाले सञ्चालन गरेका थिए भने सभालाई तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले पनि सम्बोधन गरेका थिए। सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, सचिव भक्तिमान तामाङ, भागोप्रमो खरसाङ महकुमा समितिको उपाध्यक्ष प्रेम प्रधान, महकुमा सदस्य सञ्जीव लामा, तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, युवा शक्ति समष्टि सभापति केवल राई, कर्माध्यक्ष साजन दर्जी लगायत अन्यहरु उपस्थित रहेका थिए।











