गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले सामाजिक संजाल मार्फत सन् २०२१ ब्याचका एमबीबीएस विद्यार्थीहरू, जो आफ्नो पहिलो व्यावसायिक पाठ्यक्रम सम्पन्न गर्ने अन्तिम चरणमा छन्, साथै २०२२–२०२५ ब्याचका एमबीबीएस, बीडीएस, बीपीटी, एमपीटी, इन्जिनियरिङ तथा अन्य विषयहरू अध्ययनरत विद्यार्थीहरू र उनिहरूका अभिभावकहरूसँग अन्तरक्रिया गर्ने अवसर उनको लागि साँच्चै नै अत्यन्तै आनन्ददायी र अविस्मरणीय रह्यो भने। साथै मणिपाल इन्स्टिच्युट तथा विभिन्न विश्वविद्यालयहरूमा अध्ययनरत यी विद्यार्थीहरू र उनिहरूका सम्माननीय अभिभावकहरूसँगको संवाद अत्यन्त हृदयस्पर्शी र प्रेरणादायी रह्यो भने।
मुख्यमन्त्रीले संजाल मार्फत भने- मुख्यमन्त्री शिक्षा सहायता योजना (सीएमएसएस) मार्फत हामीले यी योग्य तथा प्रतिभाशाली विद्यार्थीहरूलाई अर्थपूर्ण आर्थिक सहयोग र नैतिक प्रोत्साहन प्रदान गर्न सकेका छौँ। उनिहरूको समर्पण, दृढता र शैक्षिक उत्कृष्टता प्रत्यक्ष देख्दा यस पहलको वास्तविक उद्देश्य र दूरगामी प्रभावप्रति पुनः विश्वास जागृत भयो, यसले युवा मस्तिष्कहरूलाई आत्मविश्वास, गरिमा र अटल सङ्कल्पका साथ आफ्ना आकांक्षा पूरा गर्न सशक्त बनाइरहेको छ।
उनले सेवा र मानवताप्रति समर्पित आफ्ना पवित्र पेशागत यात्रामा अघि बढ्दै गरेका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको बताए।
कार्यक्रम सफल बनाउन योगदान गर्ने सम्पूर्ण व्यक्तित्वहरू प्रति मुख्यमन्त्रीले हार्दिक आभार व्यक्त गरे, विशेष गरी मुख्यमन्त्री कार्यालय र इन्स्टिच्युटबीच सशक्त सेतुको रूपमा उल्लेखनीय भूमिका निर्वाह गरेका डा. सन्दीप कश्यपप्रति विशेष धन्यवाद व्यक्त गरे।
अन्तमा मुख्यमन्त्रीले सिक्किम सरकार गुणस्तरीय शिक्षा, व्यावसायिक उत्कृष्टता र समाजप्रति समर्पित सेवामा आर्थिक अभावले कहिल्यै बाधा नबनोस् भन्ने प्रतिबद्धतामा दृढ रहेको जानकारी गराए।










