सोनादा: अप्पर सोनादास्थित टाँशी छोईलिङ बौद्ध गुम्बामा विगत दश वर्षदेखि परम्परागत रूपमा आयोजना हुँदै आएको छाम पूजा यस वर्ष पनि सफलतापूर्वक सम्पन्न भएको छ। गुम्बाका प्रमुख धर्मगुरु राफग्ये छाम्बलाका अनुसार पूजा गत २३ मार्चदेखि शुरु भई शुक्रबार २७ मार्चको दिन विधिपूर्वक समापन गरिएको हो। पूजाको पहिलो दिन दशौं गुरु डागपो महापालाको पूजा–आर्चना गरिनुका साथै २४ र २५ मार्चको दिन बिहान ३:३० बजी गुम्बा भवनभित्र छाम नृत्यको विशेष प्रदर्शन गरिएको थियो। यसै क्रममा २६ मार्चको दिन गुम्बा प्रांगणमा तोरग्याप तथा छाम नृत्यको भव्य प्रस्तुति गरिएको थियो।
समापनको दिन २७ मार्चको बिहान छाम नृत्यसँगै महाकालको छ्योछेन पूजा सम्पन्न गरिएको थियो। यसका साथै विभिन्न संस्कृतिक नृत्यहरु किराँती खम्बु राई सोनादा संस्कृतिक संस्थान द्वारा शासुङ शिल्ली, तामाङ सेलो नृत्य, टिबिट्यन नृत्यहरु प्रस्तुत गरेका थिए। छाम पूजापछि आदरणीय धर्मगुरु छ्युसाँग रिम्पोर्छेको करकमलबाट समस्त धर्मप्रेमी महानुभावहरूलाई दिर्घायुका लागि छेडुप (वाङ) प्रदान गर्दै सम्पूर्ण प्राणी जगतको सुख, शान्ति र समृद्धिको कामना गरिएको थियो। दशौं गुरु डागपो महापालाको पूजा सफलतापूर्वक सम्पन्न हुनुले सम्पूर्ण भक्तजन, स्वयंसेवक र सहयोगीप्रति गुम्बाका प्रमुख धर्मगुरु राफग्ये छाम्बलाले विशेष आभार व्यक्त गर्दै हार्दिक धन्यवाद प्रकट गरेका छन्।










