अप्पर छुचेन निम्न माध्यमिक विद्यालयमा भानु जयन्ती पालन

IMG_20220713_220347.jpg

नाम्ची: आज २०८औं भानु जयन्ती समारोह-२०२२ सोरेङ जिल्लाअन्तर्गत मङ्गलबारे खण्डअधीनस्थ अप्पर छुचेन निम्न माध्यमिक विद्यालयमा भव्यरूपमा सम्पन्न गरियो। सो कार्यक्रम सरकारी निम्न माध्यमिक विद्यालय अप्पर छुचेन एवं अमरज्योति संस्थान छुचेनको संयुक्त तत्वावधानमा भएको थियो। समारोहमा साहित्यप्रेमी, समाजसेवी एवं राजनीतिज्ञ आरके वालिङ मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए।
कार्यक्रमको शुरूमा दिवाङ्गत सिक्किमका दुई विभूति पद्मश्री बीबी मुरिङला अनि साहित्यकार उपमान बस्नेतको चिरात्माले शान्ति पाऊन् भनी दुई मिनटको मौनधारण गरियाे। भाषा र संस्कृतिको सुरक्षा र संरक्षण गर्ने उद्देश्य लिएर मनाइएको यस भानु जयन्ती समारोहमा अन्तरविद्यालय चित्रकला, कविता वाचन, हाजिरी जवाफ, रामायण पाठ अनि खुल्ला कविता वाचन प्रतियोगिता आदि राखिएको थियो। कार्यक्रममा अतिथि कवि मिलन थुलुङ राईले आफ्नो कविता वाचन गरेका थिए।
मुख्य अतिथि आरके वालिङले आफ्नो मन्तव्यमा हाम्रो नेपाली भाषाको विकासमा हामी नेपालीहरूको मात्र नभएर अन्य जातिका कविहरूको पनि योगदान रहेको बताए। उनले भने, अहिले प्राविधिक युगमा आएर हाम्रो भाषा, साहित्य र संस्कृतिहरू मर्दैछ, लोप हुँदैछ। त्यसको निम्ति सुरक्षा र संरक्षण गर्नु युवाहरू जन्मिनु पर्छ भन्दै सिक्किम सरकारले साहित्य र सङ्गीतका क्षेत्रमा गरेका विभिन्न कार्यक्रमहरूबारे पनि उनले जानकारी गराए।
अन्तरविद्यालय चित्रकला प्रतियोगितामा मिडल ताकुथाङ प्राथमिक पाठशालाकी साईना राई (प्रथम), कल्बोङ प्राथमिक पाठशालाका थुप्देन तामाङ (द्वितीय) अनि भञ्ज्याङडाँड़ा प्राथमिक पाठशालाका छेवाङ तामाङ (तृतीय) स्थान, अन्तरविद्यालय कविता वाचन प्रतियोगितामा पबीता राई (प्रथम), निलिमा राई (द्वितीय) अनि सिगेङ निम्न माध्यामिक स्कुलकी समीक्षा राई (तृतीय) स्थान ओगट्न सफल भएकी छन् भने लब्ली राईलाई उत्कृष्ट चित्रकारको रूपमा निर्णायकले चयन गरेको छ। यस अतिरिक्त अप्पर छुचेन निम्न माध्यमिक पाठशालाका विद्यार्थीद्वारा रामायण पाठ साथै स्थानीय बीरबहादुर छेत्रीद्वारा रामायणका श्लोक पाठ गरेका थिए।

About Author

Advertisement