अनित थापा पुगे रङनित चियाबगान चित्रेका पसलेहरुलाई भेट्न

IMG-20250323-WA0215

हामी विकास चाहन्छौ। तर विकास गर्दा हाम्रो मान्छेले दुःख पाएको हुनुहुँदैन: अनित थापा

दार्जिलिङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा रङनित चिया बगानको चित्रेका पसलेहरुलाई भेट्न आज पुगेका थिए। चित्रे बजारसँग जोडिएको चिया बगानमा १६ फिट अग्लो पर्खाल निर्माण विरुद्ध पसलेहरूले जीटीए मुख्य कार्यपाल अनित थापालाई भेटेर गुनासो राखेका थिए।

पर्खाल निर्माण भयो भने त्यहाँको सुन्दरता नै नष्ट हुने अनि पर्यटकहरू त्यहाँ नआउने आंशका जाहेर गरेका थिए। पर्खाल निर्माणले त्यहाँबाट देखिने कञ्चनजंघा अनि लेबोङ रेस कोर्सको मनोरम दृश्य नै देख्न नसकिने पसलेहरूले बताएका थिए। यदि पर्यटकहरू चित्रे आएनन् भने लगभग ५० पसलेहरुको आय स्रोतमा नै धक्का लाग्ने सम्भावना रहेको छ।

अनित थापाले पसलेहरुलाई आश्वासन दिँदै भने, “हामी उत्ताउलो भएर काम गर्नु हुँदैन। म मान्छेलाई फसाउने, मान्छेलाई चम्काउने, मान्छेलाई भोक हडतालमा बसाउने काम गर्दिन। तिमीहरूले मलाई आएर समस्या बतायौ। अब समस्या सुल्झाउने मेरो जिम्मेवारी हो। तिमीहरू शान्ति प्रकारले काम गर्दै गर। सबै सँग मिलेर बस्नु। बातचितमा नै समस्याको समाधान हुन्छ। हामी विकास चाहन्छौ। तर विकास गर्दा हाम्रो मान्छेले दुःख पाएको हुनुहुँदैन। म बातचित गरेर नै यहाँको समस्या समाधान गरिदिनेछु, सुर्ता गर्नु पर्दैन।”

About Author

Advertisement