अनित थापाको बाहुलीबाट सिटोङको कोइला गोदामदेखि सेब्जे, माना, घलेटार हुँदै जोगीघाटसम्म पुग्ने बाटोको शिलान्यास

IMG-20241204-WA0152

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङको ट्राइबल खेल मैदानमा आयोजित कार्यक्रममा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल साथै क्षेत्रीय सभासद अनित थापाको बाहुलीबाट बाटो निर्माण कार्यको शिलान्यास गरिएको छ।
उनले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन, पश्चिम बंगाल राज्य ग्रामीण विकास एजेन्सी, दार्जिलिङ डिभिजनद्वारा निर्माण हुने भनिएको “कोइला गोदामदेखि सिटोङको सेब्जे, माना, घलेटार हुँदै जोगीघाटसम्म पुग्ने बाटोको शिलान्यास गरेका छन्। उक्त शिलान्यास कार्यक्रममा‌ प्रमुख अतिथिको रुपमा उपस्थित जीटीएको मुख्य कार्यपाल अनित थापाले भने, ‘कुनै पनि क्षेत्रको विकास हुनु त्यहाँको पूर्वाधारको विकास हुनु अति आवश्यक कुरा हो। सिटोङ क्षेत्र पर्यटनको दृष्टिकोणले महत्वपूर्ण क्षेत्र हो। दोस्रो, ग्रामीण क्षेत्र भएको कारण यहाँ विभिन्न प्रकारका फलफूल उत्पादन पनि हुन्छ। ग्रामीण क्षेत्रमा उत्पादन भएको उत्पादनहरूलाई शहर पुर्याउनु नै पर्छ। यो बाटो निर्माण कार्य, ग्रामीण क्षेत्रको चौतर्फी विकास अनि त्यहाँका मानिसका व्यापारलाई बजारसम्म पुर्याउने जमर्को हो।’
उनले अघि भने, ‘हामीले चुनावको समयमा दिएको वचन पूरा गर्दै आएका छौँ। ढिलो छिटो केही न केही पूरा गर्दैछौं। त्यसैले हामी भन्ने गर्छौ भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा कर्ममा विश्वास गर्ने पार्टी हो। कर्म नै हाम्रो सिद्धान्त अनि चिन्हारी पनि हो।’

कार्यक्रममा कार्यकारी सभासद रतन थापा, विभागीय कार्यकारी निर्देशक, खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री अनि दार्जिलिङ डिभिजनको कार्यकारी ईन्जिनियर उपस्थिति रहेका थिए।

About Author

Advertisement